समाचार

उपनिर्वाचनको तयारीमा जुट्यो आयोग

काठमाडौं । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । देशभर रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने छ ।

आयोगका अनुसार अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहका ४७ स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमध्ये ती स्थानमा पद खाली छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १ र नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष ३८ गरी कूल ४७ पद रिक्त अवस्थामा छन् ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दूर्घटनामा परी निधन भएपछि प्रतिनिधिसभातर्फ कास्कीमा एक स्थान रिक्त भएको हो ।

आयोगले पद रिक्त रहेका स्थानका मतदातालाई मतदाता नामावलीमा नाम लेखाउन आग्रह गरेको छ । योग्यता पुगेर पनि नाम नभएकाहरुका लागि नाम लेख्न आयोगले आग्रह गरेको हो ।

जिल्लास्थित जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र मतदाता दर्ता कार्य सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयमा पुगेर मतदाता नामावलीमा नाम लेखाउन सकिने आयोगले उल्लेख गरेको छ ।