समाचार

आत्मसमर्पण गरेका पुलिसका पूर्व महानिरिक्षक कारागार चलान

काठमाडौं । भ्रष्टाचारमा दोषि सावित नेपाल प्रहरीका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजी) रमेशचन्द ठकुरीले बिहीबार आत्मसमर्पण गरेका छन् ।

सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका उनलाई बिहीबार नै डिल्लीबजार कारागार चलान गरिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

सुडान भ्रष्टाचार काण्डमा दोषि सावित उनी विगत दुई वर्ष देखि फरार थिए । आत्मसमर्पण गर्दै कारागार बाहिर बसेर पुनरावेदन लड्न पाउनु पर्ने उनको माग थियो । तर, उनको मागलाई सर्वोच्चले सदर गरेन ।

प्रहरीको सुडान मिसन घोटाला काण्डमा उनी दोषी ठहर भएका थिए । सर्वोच्च अदालतले १७ वैशाख २०७४ मा उनीमाथि कैद र जरिमानाको फैसला भएको थियो ।

सुडान घोटाला काण्डमा सर्वोच्चले तीन पूर्वआइजिपीलाई दोषी ठहर गरेको थियो। चन्दसँगै पूर्व आइजिपी ओमविक्रम राणा र हेमबहादुर गुरुङ पनि यस घोटालामा दोषि सावित भएका थिए ।

पूर्वएआइजी श्यामसिंह थापा, दीपकसिंह थाङ्देङ, डिआइजी दीपककुमार श्रेष्ठ, एसएसपी रविप्रताप राणासमेत यस काण्डमा दोषि ठहर भएका थिए ।

सुडान मिसनमा करिब ४३ करोड रुपैयाँ बराबरको सामान खरिदमा २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।