समाचार

हतकडीमा बच्चा जन्माउन बाध्य पारेकोले न्यूयोर्क पुलिसले तिर्ने भए ६१०,००० डलर

न्यूयोर्क पुलिस डिपार्टमेण्टले प्रसुतीको अवस्थामा पनि हतकडी लगाएको कारणले एक महिलालाई अमेरिकी डलर ६ लाख १० हजार तिर्न राजी भएको छ । जेन डो नाम गरेकी महिलाले गत ७ फेब्रुअरी २०१८ मा आफुलाई गिरफ्तार गरेको केही बेरमा नै प्रसव व्यथा शुरु भएको र सो समयमा पनि प्रहरीले हतकडीले बाँधेर राखेको न्यूयोर्क सिटी बिरुद्धको आफ्नो उजुरीपत्रमा उल्लेख गरेकी थिईन् ।

उनका वकिल क्याथरिन रोजेन्फेल्डका अनुसार डोलाई ब्रोन्क्स काउण्टी पारिवारिक अदालतबाट उनको भुतपूर्व पतिसँगको बच्चा राख्ने बिबादमा कानूनको अर्डर उल्लंघन गरेको अभियोगमा गिरफ्तार गरेको हो । वकिल रोजेन्फेल्ड भन्छन् “४० हप्ताको गर्भवतीलाई तत्काल गिरफ्तार गरिहाल्नु पर्ने बाध्यात्मक अवस्था पनि थिएन” । उजुरी अनुसार उनलाई प्रसुती बेदना चलिराख्दा अर्को दिन बिहान जेलबाट न्यूयोर्कको मोण्टफेरी मेडिकल सेण्टर लैजाँदै गर्दा हातमा हतकडी र दुबै खुट्टाको गोलिगाँठोमा फलामे साङ्गलो बाधेर लगिएको थियो ।

न्यूयोर्क सिटीमा बिगत २००९ देखि नै गर्भवती महिलालाई हतकडी लगाउन निषेध गरिएको थियो ।त्यसैमा संसोधन गर्दै २०१५ देखि गर्भवती अवस्थामा बन्धनमा राख्न नपाईने समेत कानून छ ।

मिस डोलाई बन्धनबाट सो अवस्थामा मुक्त गर्न डाक्टरले अस्पतालमा अनुरोध गरेका थिए । डाक्टरको पटकपटकको अनुरोधका बाबजुद बच्चा जन्माउनु एक मिनेट अगाडि मात्र हातको हतकडी खोल्दिएका थिए । निज महिलाले हिरासतमा कुनै अस्वाभाविक व्यवहार देखाएकी थीईनन् ।

बच्चा जन्माए लगतै पुन: हतकडी लगाएका थिए । सो अवस्थामा उनले एउटा हातले बच्चालाई दुध खुवाएकी थिईन् । उजुरी उल्लेख छ कि मिस् डो र बच्चा डरमर्दो अवस्थाबाट गुज्रिएको थियो ।

प्रतिबादी सिटीको तर्फबाट डिटेक्टिभ सोफिया मेसन भन्छन् “प्रहरीले समुदायको शान्ति सुरक्षा र ब्यक्तिगत अधिकार बिच सन्तुलन राख्नुपर्ने हुन्छ । हाम्रो पेट्रोल गाईडलाई संसोधन गरी मेडिकलसँग सरोकारको बिषयमा छुट्टै व्यवस्था हुनुपर्छ” ।

यद्यपी न्यूयोर्क पुलिस डिपार्टमेण्टले अदालतको निर्णय कार्यान्वयन हुने प्रत्याभुत गरेको छ ।

एजेन्सी ।