स्वास्थ्य

भारतबाट नेपाल आउँदा जांच नगरे पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भने जांच यथाबत

भारतबाट नेपाल आयात हुने कृषिजन्य बस्तुमा विषादी मापनको व्यवस्था सरकारले हटाए पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले विषादी मापनको व्यवस्थालाई कायम राखेको व्यवसायीहरूले बताएका छन्।
भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको बताइन्छ।
नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवालगायत छन्।

चिया उद्योगी तथा व्यवसायीहरूका अनुसार नेपालमा उत्पादित तयारी चिया भारत निकासी गर्दा कोलकाताको प्रयोगशालामा नमुना लगेर परीक्षण नगरी भारत निकासी गर्न पाइँदैन।
तर भारतीय उत्पादन नेपाल आयात गर्दा नेपाल सरकारले गर्न खोजेको विषादी मापनको व्यवस्था सरकारले नै हटाएकोमा नेपाली व्यवसायीहरुले आक्रोस पोखेका छन्।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीवार बोल्दै दुवै देशले एक अर्काको नागरिकको स्वास्थ्य खेलबाड हुने गरि काम गर्न नहुने बताएका थिए। उनले चेकजाँचको व्यवस्था राम्रो भएको र त्यसका लागि बरू प्राविधिक केही जटिलता भए मिलाउनु पर्ने बताएका थिए।
“न हाम्रो उत्पादनको कारण भारतीय जनताको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ, न भारतीय उत्पादनको कारण हाम्रो नागरिकको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ। त्यसप्रति दुवै सरकारहरू संवेदनशील हुनुपर्छ। उत्पादक तथा व्यापारीहरू पनि संवेदनशील हुनुपर्छ। यसलाई अन्य विषयसँग जोड्नु हुँदैन,” उनले भने।

भारतमा परीक्षण यथावत

नेपालका कृषिजन्य उत्पादन भारतमा निर्यात गर्न सहज नभएको नेपाली व्यवसायीहरु बताउँछन्।
कहिले चिया त कहिले अदुवा अनि कहिले अलैंचीको निर्यातमा भारततर्फबाट अवरोध हुँदै आएको किसान तथा व्यवसायीहरू बताउँछन्।
इलामको गोर्खा टि इन्डस्ट्रिजका प्रोपाइटर उदय चापागाईंका अनुसार कोलकाताको प्रयोगशालामा लगेर नमुना परीक्षण नगरी नेपालको चियाको भारत जान पाउँदैन।
विषादी परीक्षण
रिपोर्ट आउन जति दिन लागे पनि उक्त चियाका सवारीसाधन सीमा नाकामै राख्नुपर्ने बाध्यता छ।
उनले भने, “व्यवहार भनेको समान हुनुपर्छ। भारतका बस्तु नेपाल ल्याउँदा विषादी मापनको व्यवस्था चाहिँ हटाउनुपर्ने अनि हाम्रा बस्तु भारत लैजाँदा उनीहरुले जाँच नगरी भित्र्याउन नदिने। यो पनि समान व्यवहार हो र? हामी चकित परेका छौं।”
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार नेपालका व्यवसायीले भारतको कोलकाता र लखनउमा रहेका प्रयोगशालामा कृषिजन्य बस्तुका नमुना लगेर परीक्षण गराउनुपर्छ।
जसका कारण प्रयोगशालाको रिपोर्टका लागि एक सातादेखि १५ दिनसम्म कुर्नुपर्ने उनले बताए।
उनले भने, “भारतले चाहेको जुनसुकै बेलामा हाम्रा उत्पादनको नमूना लगेर परीक्षण गराउँछ। त्यसमा पनि दुईवटा मात्र प्रयोगशाला छन्। कतिपय व्यवहारका कुराले यस्ता व्यापार समान छैनन् भन्ने लाग्छ।”
अर्का व्यवसायी आदित्य पराजुलीका अनुसार एकपटकको परीक्षणको रिपोर्टको ६ महिनाको म्याद हुन्छ तर भारतले चाहेको बेलामा जतिबेला पनि परीक्षण गराउने गरेको उनले बताए।
एक पटकको परीक्षणमा करिब २० हजार नेपाली रुपैयाँ खर्च आउने उनको भनाइ छ।

नेपालमा परीक्षण हाललाई स्थगित

नेपालका सीमा नाकामा विषादी मापनका लागि प्रयोगशाला नभएकाले हाललाई भारतबाट नेपाल ल्याइने तरकारी तथा फलफूलमा रासायनिक विषादी मापनको प्रक्रिया स्थगन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
अहिले पनि नेपाली व्यवसायीहरूले कृषिजन्य उत्पादन भारत लैजाँदा भारतका दुईवटा प्रयोगशालाबाट नमुना परीक्षण गराइरहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
तर मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार नेपालमा पाँचवटा विषादी मापनका प्रयोगशाला छन्।
विर्तामोड, सर्लाही, काठमाण्डू, पोखरा तथा बुटवलमा प्रयोगशाला रहेको उनले बताए।
उनले भने, “हाम्रा सीमा नाकामा प्रयोगशाला छैनन्। तर संख्याको हिसाबमा धेरै छन्। तर पनि भारतबाट तरकारी आयात गर्नेहरूले झञ्झट भयो भनेपछि सीमामा प्रयोगशाला स्थापना नहुञ्जेललाई विषादी मापनको कामलाई स्थगन गरिएको हो।”

समाचार श्रोत : बि बि सि नेपाली सेबा