समाचार

पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पर्याप्त पूर्वाधार नबनेका कारण सीमा नाकामा फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिएको बताएका छन् ।

आइतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले नेपालसँग विषादी परिक्षण गर्ने पूर्वाधार भएपनि पर्याप्त नरहेको उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वाधार अभावका कारण परीक्षण रोकिएको दावि गरेका थिए । तर, कृषि मन्त्रीका अनुसार नेपालमै विषादी परिक्षण गर्न सक्ने पूर्वाधार भने उपलब्ध छन् ।

काठमाडौंस्थित कालिमाटीमा २९ प्रकारका विषादी समूहको परीक्षण हुने सुविधा रहेको छ । देशका विभिन्न ६ स्थानमा परीक्षण केन्द्र स्थापना गरिएका छन् ।

नेपाल आयात हुने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने व्यवस्थासहित २ असारमा ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित भएको थियो ।

यस व्यवस्थापछि सीमानामा तरकारी र फलफुल रोकिए । त्यसपछि भारतीय दूतावासले चासो देखायो । दूतावासको चासोसँगै सरकारले परीक्षण गर्ने व्यवस्था फिर्ता लियो । त्यस निर्णयपछि भने सरकारको खुलेर आयोजना भइरहेको छ ।

तर, कृषिमन्त्री खनालले पूर्वाधार नभएको भन्ने तर्कको घुमाउरो गरी खण्डन गरे । पूर्वाधार हुँदै नभएको नभई पर्याप्त मात्र नरहेको भन्दै उनले अहिलेकै अवस्थामा पनि विषादी परीक्षण गर्न सकिने उनको तर्क छ ।

नेपालमा प्रदेश १ को विर्तामोड, दुईको सर्लाही, ३ को कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र सुदूरपश्चिम प्रदेशमा दुई वटा केन्द्रबाट विषादी परीक्षण हुने गरेको उनले जानकारी दिए ।