समाचार

कांग्रेस केन्द्रिय समिति बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आइतबारबाट राजधानीमा शुरु भएको छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक करीव ५ घण्टा ढिलो गरी शुरु भएको हो ।

बैठकमा राख्ने एजेन्डाका विषयमा शीर्ष तहका नेताहरुबीच विवाद भएपछि निर्धारित समयमा बैठक बस्न नसकेको हो । आइतबार बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्धारा १४ वटा एजेन्डा प्रस्तुत भए ।

यसमा पार्टीको जिम्मेवारी र राष्ट्रिय जिम्मेवारीका विषयमा एजेन्डा समावेश गरिएको छ । बैठक शुरु हुन अघि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर नेताले पार्टीको १४ औं महाधिवेशनको मितिका सम्बन्धमा पनि पार्टीमा छलफल हुनुपर्ने अडान लिएपछि बैठक ढिला मात्र शुरु भएको हो ।

आइतबार पार्टीको पहिलो चरणमा सम्पन्न राष्ट्रिय जागरण अभियानको समीक्षा, नियमावली मस्यौदा पारित गर्ने, पार्टीको भातृ संगठन र जनसम्पर्क समितिलाई पूर्णता दिनेजस्ता एजेन्डा राखिएको थियो।