फिचर

काठमाडौंका सम्पदा एक वर्षका लागि यूनेस्कोको खतरा सूचिबाट उम्किए

काठमाडौं । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले काठमाडौं उपत्यकालाई खतराको सूचिमा राख्ने प्रस्ताव एक वर्षका लागि स्थगित गरेको छ ।

अजरबैजानको बाकुमा जारी वर्ल्ड हेरिटेज कमिटीको ४३ औं सेसनले नेपालका सम्पदालाई एक वर्ष खतराको सूचिमा नराख्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाभित्रका सम्पदालाई खतराको सूचिमा राख्ने प्रस्ताव सेसनमा गरिएको थियो । तर, नेपालमा भूकम्पपछिको पुनर्निर्माण चलिरहेको र त्यसका लागि अझ बढी विदेशी सहयोग आवश्यक पर्ने भन्दै तत्काल खतराको सूचिमा नराख्ने निर्णय यूनेस्कोले गरेको हो ।

मन्त्रालयका अनुसार यूनेस्कोले एक टोली पठाएर नेपालका सम्पदाको अडिट गर्नेछ । उक्त अडिट टोलीले दिने प्रतिवेदनका आधारमा आगामी वर्षको सेसनले नेपालबारे अन्तिम निर्णय लिनेछ ।

सेसनमा चीन, ब्राजिलजस्ता देशले नेपाल पर्यटनमा आधारित मुलुक रहेका कारण उक्त देशका सम्पदालाई खतराको सूचिमा राख्न नहुने बताएका थिए ।

मन्त्रालयका अनुसार यूनेस्कोले खासगरी विश्व सम्पदा क्षेत्रभित्र बन्न संरचनाको परम्परागत विशेषता र मौलिकता हराएकोतर्फ विशेष चासो राखेको छ ।

पूनर्निर्माणका क्रममा आधुनिक निर्माण सामग्रीका प्रयोगका सम्बन्धमा पनि यूनेस्कोको चासो रहेको छ ।

काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिर, बौद्धस्तुपा, स्वयम्भू, काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर तथा चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

यसबाहेक सगरमाथा राष्टिय निकुन्ज, चितवन राष्टिय निकुन्ज र लुम्बिनी पनि विश्व सम्पदा सूचिमा रहेका छन् ।