समाचार

चार राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले चार देशका लागि प्रस्तावित भएको राजदूतको नाम अनुमोदन गरेको छ । समितिको सोमबारको बैठकमा संसदीय सुनुवाई लगत्तै चारै जना राजदूतको नाम अनुमोदन गरिएको थियो ।

अनुमोदन हुनेमा बंगलादेशका बंशिधर मिश्र, कतारमा नारदनाथ भारद्वाज, अष्ट्रेलियामा महेशराज दाहाल र स्पेनमा दाबा फुटी शेर्पाको नाम रहेको छ ।

सोमबार नै भएको संसदीय सुनुवाईमा राजदूतहरुका विषयमा परेको उजुरीका सम्बन्धमा प्रस्तावित राजदूतहरुले जवाफ दिएका थिए ।

अष्ट्रेलियाका लागि अनुमोदित नेपाली राजदूत महेशराज दाहालले आफू र आफ्नो परिवारको नाममा विदेशमा स्थायी आवासीय अनुमतिपत्र नभएको बताए । समितिमा उनकी पत्नीले अमेरिकामा स्थायी बसोबास अनुमतिपत्र (पीआर) लिएको उजुरी परेको थियो ।

दाहालले भने आफ्नी पत्नीले वर्क परमिट मात्र लिएको र त्यसको म्याद दुई महिनामा सकिने स्पष्टिकरण दिए ।

कतारका लागि अनुमोदित राजदूत नारदनाथ भारद्वाजले नेपालको पानी कतारको बजारमा बेच्न सकिने सम्भावना रहेको बताए ।

बंगलादेशका लागि अनुमोदित वंशिधर मिश्रले नेपाल र बंगलादेशबीच विद्युत व्यापार र पर्यटनलाई प्राथमिकतामा दिने बताए ।