खेलकुद

डफिन्सको कब्जामा तिलोत्तमा कप

स्वस्तिक श्रेष्ठ
बुटवल
रुपन्देहीको ऐतिहासिक २१ औ तिलोत्तमा गोल्ड कपको उपाधि जित्दै क्यामरुनको डफिन्सले यो सिजनमा ह्याट्रिक गरेको छ । विभागिय टिम नेपाल पुलिस क्लबका विरुद्ध यो सिजनमा बुढासुब्बापछि अर्को फाईनल भिडन्तमा लगातार सडेन डेथमा ६–५ गोलको परिणाम दोहोराउदै डफिन्स उपाधि विजेता बनेको हो । उपाधिसंगै डफिन्सले नगद ८ लाख ८० हजार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता पुलिस भने नगद ५ लाख ५० हजार, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा रुपन्देहीका आशिष गुरुङ्ग सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै यामाहा स्कुटिबाट पुरस्कृत भए । यसैगरि पुलिसका रबि पासवान उत्कृष्ट फरवार्ड, पुलिसकै हेम तामाङ्ग उत्कृष्ट मिडफिल्ड, पुलिसकै अनन्तराज थापा उत्कृष्ट प्रशिक्षक, पुलिसकै विक्रम धिमाल उत्कृष्ट डिफेन्डर, डफिन्सका प्रिसो उत्कृष्ट गोलकिपर घोषित हुदै जनही नगद २५ हजारसहित ट्रफीबाट पुरस्कृत भएका छन ।
शुरुवातबाट नै दुबै टिम आक्रमक खेल पस्केका थिए । डफिन्सका ईकेविमले ५ औ मिनेटमा गरेको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले विफल पारिदिए । खेलको १३ औ मिनेटमा राम्रो अवसरलाई पुलिसले गुमायो । भरत शाहको क्रसलाई मान बहादुर नेपालीले भेट्न सकेनन । लगतै डफिन्सका ईकेविमलको क्रसलाई नियाले गरेको प्रहार आकसियो । खेलको ३५ मिनेटमा तेज तामाङलाई लडाएपछि बिलियमले पहेलो कार्ड पाए । पहिलो हाफको अन्तिम समयमा पुलिसका तेज तामाङले फल गरेपछि पहेलो कार्ड पाए । ईकेवेमले खेलको ६३ औ मिनेटमा गरेको फ्रिकिक प्रहार सिधै पुलिसका गोलकिपर शत्रुघन चौधरीले हात पुग्यो । खेलको ६५ औ मिनेटमा भरत शाहको पास मिलन राईको प्रहार आकासियो । खेलको ७६ औ मिनेटमा अजित भण्डारीले पेटन्गालाई फल गरेपछि पहेलोकार्ड पाए । खेलको अन्तिम समयमा अवसर गुमाएसंगै पुलिस उपविजेतामा चित्त बुझायो । खेलको ८७ औ मिनेटमा पुलिसका रबि पासवानले डफिन्सका डिफेन्डरहरुलाई बिट गर्दै डिबक्सबाट दिएको क्रसलाई तिर्थ राना मगरले जाली चुमाउदै खुशी मनाएपनि रेफ्रीले अफसाईड देखाईदिए । गोलले खुशि देखिएको पुलिसका समर्थकमा निरासा बनायो । निक्कै प्रतिस्पर्धात्मक फाईनल खेलमा निधार्रित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा पनि ५–५ गोल बराबरी भएपनि खेलको निर्णय सडेन डेथमा लिईएको थियो । सडेन डेथमा तेज तामाङ्गको प्रहारलाई डफिन्सका गोलकिपर प्रिसोले राके भने नियको प्रहारले जाली चुमेसंगै रेफ्रीले डफिन्सलाई विजेता घोषणा गरे ।
एक कार्यक्रमका बिच राष्ट्रिय खेलुकद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, अखिल नेपाल फुटवल संघका सहायक उपमहासचिव प्रकाश पंगेनी, यातायात मजदुर भलाई कोष दिनेश फुलेल, नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसि, सल्लाहकार महेन्द्र हमाल, संघका अध्यक्ष दीर्घ बहादुर केसीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा सदस्यसचिव केशव विष्टले नेपालकै पुरानो फुटवल प्रतियोगिताको निरन्तरता नै ठुलो भएको बताए । यस क्षेत्रमा खेलकुदको आर्कषणलाई बुझेर सरकारबाट लगानी बढाउदै लगेको उनले बताए । नया प्याराफिट निमार्णमा सहयोग गर्ने प्रतिवद्दता जनाउदै उनले पछिल्लो समय यस प्रदेशमा ६ करोड बढी लगानी सरकारबाट भएको बताए । राष्ट्रिय खेलकुद प्रतियोगिता गराउने तयारीसंगै यहा धेरै पूर्वाधार बन्दै गएको भन्दै उनले अब पाच नम्बर प्रदेशको खेलकुदमा जागरण ल्याउने दाबी समेत बताए ।