समाचार

एनआरएनमा अब नयाँ बहस, सम्पर्कविहीन पुस्तालाई समेट्ने प्रस्ताव

विश्व न्युज संवाददाता
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएन)को एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारको राजधानी याङ्गोनमा सम्पन्न भएको छ । शनिबार भव्य रुपमा उद्घाटन भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीको भूमिका खोज्ने उद्देश्यले सम्मेलनमा विभिन्न प्रकारका छलफल गरिएको एनआरएन प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । उनका अनुसार शनिबार उद्घाटन सत्रसहित एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन प्रस्तुती, महिला तथा युवासँग सम्बन्धित विभिन्न कार्यक्रमसमेत गरिएको उनले जानकारी दिए ।
क्षेत्रीय संयोजक किरणविक्रम थापाको सभापतित्वमा सुरु भएको एनआरएनएको उद्घाटन सत्रको सुरुमा संघका अध्यक्ष भवन भट्टले सम्बोधन गरेका थिए । त्यसपछि बैठकमा प्रवासमा रहेका नेपाली समुदायको क्रियाकलाप, नेपाली समुदायले भोग्नुपरेका समस्या र नेपालको कला, संस्कृति तथा भाषा प्रवद्र्धनका विषयमा छलफल भएको थियो । हजारौं नेपाली मूलका बर्मेली बसोवास गर्ने म्यानमारमा नेपाली कला, संस्कृति अहिले पनि उत्तिकै महत्वको बनेको छ ।
एनआरएनको बैठकमा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत, नेकपा एमालेका सांसद डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिबी क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायतको सहभागिता थियो । बर्मा रहेका नेपाली मूलका विभिन्न व्यक्तिको समेत कार्यक्रममा सहभागी रहेको थियो ।
बैठकमा एसिया क्षेत्रका म्यानमारसहित जापान, चीन, मकाउ, मलेसिया, थाइल्याण्ड, दक्षिण कोरिया लगायतका देशका प्रतिनिधि सहभागी थिए । त्यस्तै अमेरिका, यूरोप, मध्यपूर्व र ओसियानाका प्रतिनिधिसमेत कार्यक्रममा भाग लिन म्यानमार पुगेका थिए ।
सम्मेलनअन्तर्गत आइतबार भएको छलफलमा नेपालको समृद्धिसम्बन्धी विभिन्न पक्षमा छलफल भएको थियो । झण्डै ३ सय भन्दा धेरैको सहभागिता रहेको कार्यक्रममा म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिमको समेत उपस्थिति थियो ।

कार्यक्रममा कसले के भने ?
सम्मेलनलाई सम्बोधन गर्ने अधिकांश वक्ताले नेपालको समृद्धिको योजना कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले विदेशमा रहेका नेपाली मुलका नेपालीहरु र विदेशमा रहेका नेपालीको नेपाल सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिएका छन् । उनले हरेक सम्बन्धले नेपाललाई फाइदा हुनेमा जोड दिएका छन् ।
कार्यक्रममा उपस्थित म्यानमारका मन्त्री चो टिमले नेपाल र म्यानमार बिकासको चरणमा प्रवेश गर्दै गरेका मुलक भएकाले मिलेर काम गर्न सकिने प्रस्ताव राखे । उनले नेपाल र म्यानमारमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए । उनले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०लाई स फल बनाउन म्यानर सरकारले सहयोग गर्ने विश्वास दिलाए । पछिल्लो समय म्यानमारका नागरिक पनि विदेश भ्रमणमा जान थालेको बताए । गैरआवासीय नेपालीहरुको अभियानबाट आफूहरुले पनि केही कुरा सिक्न खोजेको म्यानमारका मन्त्रीको भनाइ रहेको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले गैरअवासीय नेपालीहरुका समस्या सम्बोधनमा सरकारलाई आफूले दबाब दिइरहेको बताए । उनले नेपालको सम्पत्ति भएकाले अब यो समूह नेपालको विकासको साझेदार हुनुपर्नेमा जोड दिए ।
म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपाली मुलका म्यानमारी नागरिकले जस्तै नेपाली भाषा, कला संस्कृतिको जर्गेना गर्न विदेशमा बस्ने सबै नेपाली समुदायलाई आग्रह गरे । उनले म्यानमारका नागरिकले जसरी नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना अन्त कतै हुन नसकेको बताए । उनले दुई देशका बीचमा धेरै समानता भएकाले आपसमा सहकार्य गरेर काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै संघका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफूहरु लागि पर्नेमा जोड दिएका छन् । उनले नेपालको समृद्धिका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताए ।
सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक डा. उपेन्द्र महतोले व्यक्तिगत सफलताले व्यत्तिः धनी भएपनि राष्ट समृद्ध नभएसम्म त्यसको केही महत्व नहुने भएकाले नेपालको समृद्धिले मात्र संसार भर छरिएर रहेका नेपालीको समृद्धि हुनेमा जोड दिए । एनआरएनएका क्षेत्रीय संयोजक किरणविक्रम थापाले म्यानमारमा कार्यक्रम गर्न पाउँदा आफूहरु खुुसी भएको प्रतिक्रिया दिए ।

नयाँ एजेण्डा के बन्यो ?
एनआरएनको एसिया प्रशान्त सम्मेलन विभिन्न एजेण्डा तय गर्दै म्यानमारमा सम्पन्न भएको थियो । सम्मेलनले नेपालसँग पुस्तादेखि सम्पर्कमा नरहेका व्यक्तिलाई पनि गैरआवासीय नेपाली रुपमा समेट्ने नयाँ प्रस्ताव गरेको छ । यो व्यवस्थाले सार्क राष्ट्रबाहेकका म्यानमार, मलेसिया, थाइल्याण्ड लगायत विभिन्न देशमा दशकौंदेखि बसोवास गरिरहेका नेपाली मूलका विदेशीले पनि अब एनआरएनको सदस्यता पाउने बाटो खुल्ने तयारी देखिन्छ ।
म्यानमार सम्मेलनको मुख्य एजेण्डा यही विषय रहेको थियो । नेपाली डायस्पोरालाई एक–दुई पुस्तामा मात्र सीमित नगरेर गैरआवासीय नेपालीको परिभाषाभित्र नेपालबाट पुस्तौंदेखि विदेशमा बसोवास गरिरहेका व्यक्तिका सन्तानलाई समेट्न सक्नेगरी कानुनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ । एसिया प्यासिफिक क्षेत्रीय बैठक आइतबार सम्पन्न भएको थियो ।
एनआरएनले संस्थागत रुपमा नै एनआरएनको दायरा फराकिलो बनाउनेगरी कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरिसकेको छ । नेपालसँग सबै प्रकारका नाता टुटिसकेको अवस्थामा एनआरएनले अब ती नेपालीलाई पनि नेपालसँग जोड्ने अभियान थाल्ने जनाएको छ ।
बैठक सम्पन्न भएपछि जारी गरिएको विज्ञप्तीको ३ नम्बर बुँदामा मुलुकको विकासमा डायस्पोराको महत्वपूर्ण भूमिका रहने कुरालाई मनन गर्दै डायस्पोरालाई एकदुई पुस्तामा मात्र सीमित नगरेर गैरआवासीय नेपालीको परिभाषाभित्र नेपालबाट विदेशमा पुगेर बसोवास गरेका व्यक्तिका सन्ततीलाई समेट्न सक्नेगरी कानुनी व्वस्था गर्न सरकारलाई अनुरोध गर्ने कुरा उल्लेख गरिएको छ ।
एनआरएन सम्मेलन तथा बैठकले नेपाली मूलका विदेशी नागरिकलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय गरेको प्रवक्ता घिमिरेले जानकारी दिए । नेपालको कला, संस्कृति, भाषा र रहनसहनसहितको आफ्नो पहिचान राख्न सफल भएकोमा म्यानमारमा बसोवास गर्ने नेपाली मूलका म्यानमारका नागरिकलाई धन्यवाद दिइएको छ ।
त्यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सक्रियतापूर्वक लागि पर्ने, नेपालले डायस्पोरा कूटनीति अप्नाउनु पर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ । नेपालको समृद्धिका लागि विदेशबाट सिकेको ज्ञान, सीप, आर्जन गरेका साधन स्रोतको प्रयोग गर्ने वातावरण बनाउन पनि निरन्तर प्रयास गर्ने प्रण पनि बैठकले गरेको छ ।
नेपालमा १० अर्ब रुपैयाँको सामूहिक लगानी कम्पनी सफल पार्ने विषयमा पनि बैठकमा छलफल भएको छ । बैठकले आगामी एसिया प्रशान्त क्षेत्रीय बैठक चीनमा र त्यसपछिको बैठक कोरियामा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । सम्मेलनकै क्रममा हङकङको एउटा पक्षले बहिष्कार गरेको कुरा विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।