समाचार

नेपाल एसीसी यू-१९ एसिया कपमा छनोट

काठमाडौं । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दै एसीसी यू-१९ एसिया कपको टिकट पक्का गरेको छ ।

मंगलबार एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले हङकङविरुद्ध ६ विकेटको प्रभावशाली जीत हात पारेको हो ।

उपाधि हात पारेको नेपालले आगामी अगस्ट महिनामा श्रीलंकामा आयोजना हुने एसिसी यू-१९ एसिया कप खेल्ने भएको छ ।

उक्त प्रतियोगितामा नेपालसहित श्रीलंका, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईले भाग लिनेछन् ।

मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको चुनौती दिएको थियो । नेपालले उक्त लक्ष्य १६.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

नेपालका लागि पवन सर्राफले ३९ रनको योगदान दिए। रित गौतमले १३ रन जोडे । खड्गबहादुर बोहराले ८ रन बनाए । रोहितकुमार पौडेल १२ रन र भीम सार्कीले ११ बलमा ८ रनमा अविजित रहे ।

हङकङलाई ९५ रनमै समेट्ने क्रममा लेगस्पिनर सागर ढकाल चम्किए । १० ओभर बलिङ गरेका उनले ५ विकेट लिने क्रममा मात्र १८ रन खर्चिए । कमलसिंह ऐरीले ३, कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट हात पारेका थिए ।