विश्व

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो

म्यान्चेस्टर । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको छ ।

बुधबार बेलायतको म्यानचेस्टरमा सम्पन्न खेलमा न्यूजिल्याण्डले भारतमाथि १८ रनको रोमान्चक जीत हात पार्यो । खेल मंगलबार नै हुनुपर्ने थियो । तर, वर्षाले अवरुद्ध भएको खेल बुधबारका लागि सारिएको थियो ।

न्यूजिल्याण्डले मंगलबार नै ब्याटिङ गरेको थियो । भारतका लागि बुधबार २४० रनको लक्ष्य सेट भयो । लक्ष्य पछ्याएको भारत भने २२१ रनमा अलआउट भयो ।

भारतका लागि रवीन्द्र जडेजाले ७७ रनको आकर्षक इनिङ खेले । महेन्द्र सिंह धोनीले ५० रन बनाए । सस्तैमा भरपर्दा ब्याट्सम्यान गुमाएको भारतलाई शूरुवाती ओभरमा सम्हालिन नसक्नु नै ठूलो कमजोरी रह्यो ।

भारतका ओपनर द्धय रोहित शर्मा र केएल राहुल तथा कप्तान विराट कोहली मात्र ११ रनमा आउट भए । जसले गर्दा मध्यक्रममा ब्याट्सम्यानमाथि दवाव आएको थियो ।

तर, हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रनको योगदान दिए । धोनी र जडेजाबीचको १ सय १६ रनको साझेदारीले भारतलाई जीतको नजिक लगेपनि उनीहरु आउट भएपछि भारतले जीत निकाल्न सकेन ।

१.३ ओभरमा रोहित एक रनमा आउट हुँदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुदा भारतको पाँच रन थियो । त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएपछि भारत दबाबमा आएको हो ।

न्यूजिल्याण्डका मट हेनरी बलिङमा चम्किए । उनले ३ विकेट लिए । ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट हात पारे । मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो ।

‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल सुरु भएको हो । न्यूजिल्याण्डका लागि अनुभवि ब्याट्सम्यान रोस टेलरले ७४ तथा कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए ।

हेनरी निकोलसले २८ रन बनाए । भारतका लागि बलिङमा भुवनेश्वर कुमारले तीन विकेट झारेका थिए । अब न्यूजिल्याण्डले उपाधीका लागि अष्टेलिया र इंल्याण्डको बिजेतासँग भिड्नु पर्नेछ ।

एजेन्सी