समाचार

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास

भोजपुर । बुधबार बिहानै भोजपुर सदरमुकाम मै नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता र प्रहरीबीचको गोली हानाहानमा दुई जनाको ज्यान गएसँगै सर्वसाधारणमा त्रास फैलिएको छ ।

मुलुक शान्ती प्रक्रिया टुंग्याएर राजनीतिक स्थायित्वतर्फ अगाडी बढ्दै जाँदा सरकारले विप्लव समूहलाई प्रतिवन्धित समूह घोषणा गरेको छ ।

यसको प्रतिवादस्वरुप विप्लव समूहले गतिविधि बढाएसँगै देशभर त्रासको वातावरण शुरु भएको छ ।

भोजपुर सदरमुकामस्थित हाट बजार लाग्ने क्षेत्रमा बुधबार भएको गोली हानाहानमा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको भोजपुर प्रहरीले पुष्टी गरेका छ ।

घटनामा प्रहरी जवान सोम भट्टराई घाइते छन् । सरकारले विप्लव समूहविरुद्ध आक्रामक रवैया अपनाएको छ । प्रहरीले उनीहरुविरुद्ध लिएको आक्रामक नीतिको विरुद्धमा यो समूहले पनि सरकार लक्षित गरी आक्रमण थालेको छ ।

घटनामा मारिने विप्लव कार्यक्रता निरकुमार विप्लव समूहका ओखलढुंगा इञ्चार्ज भएको बताइएको छ । घटनास्थलबाट प्रहरीले एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद गरेको बताएको छ ।

प्रहरी जवान राई सादा पोशाकमा रहेको बेला विप्लव समूहको आक्रमणमा परेका प्रहरीको भनाई छ । त्यसपछि गस्तीमा पुगेको प्रहरीले उनीहरुमाथि गोली चलाएको बताईएको छ ।