समाचार

त्रिवि पुगेर प्रधानमन्त्रीले भने : गल्ती गर्नेहरु कारवाहीको भागिदार

काठमाडौं । एकपछि अर्को काण्ड बाहिरिएपछि बदनाम भइरहेको त्रिभुवन विश्वविद्यालयले ६० औं वार्षिकोत्सव मनायो ।

वार्षिकोत्सवका अवसरमा विश्वविद्यालयका कूलपति तथा प्रधानमन्त्री केपि शर्मा ओली त्रिभुवन विश्वविद्यालय पुगे ।

तर, उनी पुगेपछिको व्यवस्थापनको दृष्यले देशकै पाको विश्वविद्यालयको बेइज्यत मात्र गरेन, यो अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने पनि प्रष्ट देखायो ।

बुधबार काठमाडौंमा ठूलो पानी परेको थियो । कार्यक्रमस्थलमा रातो कार्पेट बिच्छ्याइएको थियो । तर, हिलोमाथि ।

यता प्रधानमन्त्री हिड्न बनाइएको हिलो माथिको रातो कार्पेटले सामाजिक संजालमा भाइरल बनिरहँदा उता प्रधानमन्त्री ओलीले गल्ती गर्नेहरु अब कारवाहीको भागिदार हुने चेतावनी दिए ।

खासगरी गोल्ड मेडल पैसा तिरेर ल्याउने तथा योग्यको अंटाएर अयोग्यलाई पास गराउने गम्भीर अपराधका घटना बाहिरिएपछि अहिले त्रिभुवन विश्वविद्यालयका जिम्मेवारी पदाधिकारी आलोचनाको शिकार बनिरहेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कसैलाई पनि उन्मुक्ति नदिने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने उल्लेख गरे ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पछिल्ला घटनाबाट विश्वविद्यालयको छवी नै बिग्रिएको भन्दै त्यस्ता गतिविधिमा नलाग्न सचेत गराए ।