स्वास्थ्य

मनसुनले देशभरको जनजीवन प्रभावित

फाइल तस्वीर

काठमाडौं । बिहीबारबाट निरन्तर परेको मनसुनले देशमा विभिन्न स्थानको जनजीवन प्रभावित पारेको छ । वर्षापछि आएको बाढीले रौतहटमा डुबान शुरु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्नुका साथै लाल बकैया नदी वस्तीमा छिर्दा डुबान शुरु भएको हो । प्रहरीका अनुसार चन्द्रपुर लच्कामा बाढी सडकमा पसेको छ, जसले गर्दा पूर्व–पश्चिम राजमार्ग नै अवरुद्ध भएको हो ।

उता, पाल्पा बुटवल खण्डमा पहिरो गएछि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा संचालनमा आएको छ ।

बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकै हेडबक्स नजिकै र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जानकारी दिएको छ ।

शुक्रबार बिहानैदेखि पहिरो हटाएर एकतर्फी सवारी संचालन शुरु भएको प्रहरीको भनाई छ ।

उता, तीन दिनयताको लगातार वर्षाका कारण सप्तकोशी नदीको जलस्तर बढेको छ । तर, खतराको स्तर भने पार नभइसकेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहानसम्म कोशीमा पानीको बहाव १ लाख ६९ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको छ। ब्यारेजका ३२ वटा ढोका खोलिएका छन्।

सुनसरीमा वस्तीमा बाढी पस्दा स्थानीय प्रभावित भएका छन् । सुनसरीको हरिनगर गाउपालिका–५ वसन्तपुरस्थित सुकसेना टोलका ३५ घरपरिवार बाढीका कारण प्रभावित भएमा हुन् । उनीहरुलाई प्रहरीले उद्धार गरेर स्थानीय विद्यालयमा राखेको छ।

यता, हेटौंडा–सिस्नेरी–फाखेल–हुमाने काठमाडौं सडक पहिरोका कारण पुर्ण रुपमा अवरुद्ध बनेको छ।

इन्द्रसरोवर गाउँपालिका–२ देउराली भन्दा एक किलोमिटर तल बिहीबार राति देखि परेको पानीले लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो।