समाचार

टी-२०इन्टरनेशनल सिरिजको पहिलो खेलमा नेपाल विजयी

मलेसिया । मलेसियाविरुद्ध दुई खेलको टी-20 सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ ।

शनिबार बिहान मलेसियाको घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा कप्तान पारस खड्का चम्किएपछि नेपालले सिरिजमा एक शून्यको अग्रता लिएको हो । नेपालले मलेसियालाई ७ विकेटले हराएको हो ।

पहिले ब्याटिङ गरेको मलेसियाले १२८ रन जोडेको थियो । १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो ।

नेपालको जितमा कप्तान पारस खड्का सर्वाधिक ८६ रन जोडे । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए ।

उनको टी-२० करीयरकै उत्कृष्ट इनिङ हो । शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहित कुमार पौड्यालले ५ रनको योगदान दिए । बलिङतर्फ मलेसियाका अनुवर रहमानले दुई विकेट झारे ।

पहिले ब्याटिङ गर्ने गरेको मलेसियाले निर्धारित२० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । मलेसियाका लागि भिरन्दीपले ५७ रन बनाए ।

बलिङतर्फ नेपालका करन केसीले तीन विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई\दुई तथा सोमपाल कामीले एक विकेट लिए ।