स्वास्थ्य

बाढी पहिरोले ३२ को लियो ज्यान

काठमाडौं । बिहीबारदेखि नै परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोमा परी देशभर ३२ जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार देशभर ज्यान गुमाउने नागरिकको संख्या ३२ पुगेको हो । विभिन्न स्थानमा १७ जना अझै वेपत्ता छन् ।

पहाडी भेगमा पहिरो र तराई भेगमा डुबानका कारण धेरै क्षेत्रमा त्रास फैलिएको छ । शनिबार भने वर्षातः कम भएका कारण केही राहत मिलेको छ ।

सुरक्षाकर्मीले विभिन्न स्थानबाट साढे ८ सय जनाको सकुशल उद्दार गरिसकेका छन् । १२ जना भने घाइते भई विभिन्न अस्पतालमा उपचारार्थ रहेको प्रहरीको भनाई छ ।

बाढी पहिरोले सबैभन्दा बढी उपत्यका भित्रै मानवीय क्षति गरेको छ । ललितपुरमा पाँच तथा काठमाडौंमा तीन जनाले ज्यान गुमाएका छन् ।

खोटाङ, काभ्रेपलाञ्चोक, भोजपुर र मकवानपुरमा पनि तीनरतीन जनाको निधन भएको प्रहरीको तथ्यांक रहेको छ ।

धादिङ र सिन्धुलीमा २/२ तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जनाले ज्यान गुमाएका छन् ।