समाचार

नेपाललाई टी-२० सिरिज, विश्वकप छनोट तयारीमा अब्बल

काठमाडौं । नेपालले मलेसियाविरुद्धको टी-२० सिरिज कब्जा गरेको छ । दुई खेलको सिरिजमा नेपाल २–० ले विजेता बनेको हो ।

आइतबार मलेसियाको घरेलु मैदानमा सम्पन्न सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल ६ रनको रोमाञ्चक जीत हात पार्न सफल भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो । नेपालका लागि आक्रामक ब्याटिङ गर्दै विनोद भण्डारीले नटआउट ५१ रन बनाए।

शरद भेषवाकरले ४० रन जोडे । कप्तान पारस खड्काको नाममा २३ रन रह्यो । १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि सिएद अजिजले अर्धशकिय इनिङ खेले पनि जित दिलाउन सकेनन्। अमिनुद्दिन राम्लीले २४ तथा वीरनदीप सिंहले २३ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए। अविनाश बोहरा र कप्तान पारस खड्काको नाममा एक एक विकेट रह्यो ।

आइसिसी वर्ल्ड टी-२० क्वालिफायर एसिया फाइनल्स खेल्न नेपाली टोली अब सिंगापुर प्रस्थान गर्ने छ । उक्त प्रतियोगिताअघि भएको सिरिजले नेपालको मनोबल बढाएको छ । सो प्रतियोगिता जुलाई २० देखि २९ सम्म सिंगापुरमा आयोजना हुँदैछ ।