घूमघाम

सुदूरपश्चिममा सोट्टो नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन

कञ्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल)ले यस वर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य शुरु गरेको छ । वैशाख ३० कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसियसन अफ कञ्चनपुर लगायत स्थानीय पर्यटन व्यवसायीहरुसँग अन्तक्रियासहित स्थलगत भ्रमण गरी सोट्टोले आफ्नो प्रवद्र्धनात्मक अभियान अगाडि बढाएको हो ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले आन्तरिक पर्यटनको प्रवद्र्धनात्मक कार्य अगाडि बढाएको हो । प्रवद्र्धनात्मक अभियानले शुक्लाफाँटा–नालापानी–खप्तडको पर्यटकीय सम्पदाहरुको उजागर गर्नुका साथै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा यहाँका गन्तव्यहरुको प्रवद्र्धन एवम् प्रचारप्रसार गर्नेछ । साथै, सुदूरपश्चिममा रहेको सम्पूर्ण गन्तव्यहरुको पर्यटन प्याकेज तयार गरी अभियानले आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटकलाई बढीभन्दा बढी सुदूरपश्चिममा ल्याउने लक्ष्य लिएको अभियानका संयोजक एवम् सोट्टो–नेपालका निवर्तमान अध्यक्ष यमबहादुर खड्काले जानकारी दिए । उनले यसअन्तर्गत कञ्चनपुर–बझाङ–अछाम–कैलालीलाई एकसाथ प्रवद्र्धन गराएर अगाडि बढाउने बताए ।

यस्तै स्थलगत अध्ययन भ्रमणमा रहेका नेकपा एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले भारतीय पर्यटकलाई सुदूरपश्चिममा भित्र्याएर थुप्रै आम्दानी गर्न सकिने भएकाले सुदूरपश्चिमका पर्यटकीय पूर्वाधार विकासमा जोड दिन स्थानीय तहका प्रमुख तथा पर्यटन व्यवसायीलाई आग्रह गरे । उनले पर्यटन स्वयंसेवा नभएको भन्दै यस व्यवसायमा रकम लिएर सेवा दिनुपर्ने बताए । साथै पर्यटकलाई बेच्न सकिने धेरैभन्दा धेरै ठाउँको विकास गर्न र एकअर्कालाई एकआपसमा जोड्न पनि उनले पर्यटन व्यवसायी र स्थानीय तहका प्रतिनिधिलाई आग्रह गरे ।

स्थलगत भ्रमण अभियानलाई स्वागत गर्दै हान कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले सुन्दर सुदूरपश्चिम नारा मात्र नभएर पर्यटक लोभ्याउने भर्जिन गन्तव्य भएको बताए । उनले घुम्न आउने पर्यटकलाई सबै किसिमको सेवा–सुविधा दिन सुदूरपश्चिम तयार रहेको पनि बताए । यस्तै, भीमदत्त नगपालिकाका मेयर सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका मेयर अशोक चन्द लगायतले पर्यटकीय गुरुयोजना बनाएर सुदूरपश्चिमका गन्तव्यहरुको विकासमा स्थानीय सरकार लागिपरेको बताएका छन् ।

स्थलगत भ्रमण अभियानमा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापासहित सोट्टो–नेपालका पूर्व अध्यक्ष यमबहादुर खड्का, महासचिव नारायण पराजुली, कोषाध्यक्ष मानबहादुर शाही, सदस्यहरु भुवनदेवी महर्जन, इन्दिरादेवी गौतम, विन्दु प्रधान, सुशिल नेपाल, पर्यटन पत्रकार संघ (जाट–नेपाल) का महासचिव हरिशरण न्यौपाने, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नम्बर ७ का संयोजक महेश भट्टराई, एनएमए साईपाल शाखाका महासचिव किशोर खड्का, फोटो पत्रकार जनार्दन अर्याल, पत्रकारद्वय बीपी अनमोल र प्रकाश शाह लगायत एक दर्जन बढीको सहभागिता रहेको छ । भ्रमण समूहले भारतको हरिद्वार, ऋषिकेषका पर्यटन व्यवसायीसँग अन्तक्रिया गर्दै नेपालको शुक्लाफाँटा हुँदै खप्तडसम्मको भर्जिन पर्यटकीय गन्तव्य हेरेर आनन्द लिन आग्रह गर्दै यतिबेला भारतका पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्न भारतको उत्तराखण्डमा रहेको हरिद्वार पुगेको छ ।