विज्ञान प्रविधि

पहिलो पटक इनर्जी बैंकको अभ्यास, भारत निर्यात भयो बढी भएको विद्युत

काठमाडौं । नेपालमा विद्युतको माग घटेपछि पहिलो पटक बढी भएको विद्युत भारतमा निर्यात गरिएको छ । निरन्तर वर्षा भएपछि अहिले प्रदेश नं १ र २ मा विद्युतको माग घटेको छ ।

उर्जा मन्त्रालयका अनुसार पहिलो पटक नेपालमा उत्पादन भएको विजुली खपतको तुलनामा बढी भएपछि भारत पठाइएको छ । अहिले देशभर १ हजार २१५ मेगावाट विद्युत् माग छ ।

तर, वर्तमान परिस्थितिले माग घटेर ६ सय मेगावाटमात्र रहेपछि उत्पादन भएको विजुली बढी भएको हो ।

मन्त्रालयका अनुसार रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् भारत पठाइएको छ ।

यी मूख्य प्रसारण लाइनबाहेक अन्य सात विन्दुबाट पनि नेपालमा बढी भएको विद्युत् भारत पठाइएको मन्त्रालयको भनाई छ । प्रसारण लाइनमार्फत विद्युत् आयात र निर्यात दुवै गर्न मिल्ने प्रविधि रहेको छ ।

अहिले नेपालको कूल जडित क्षमता १ हजार ३२५ मेगावाट पुगेको छ । नदीमा जलसतह बढेका कारण प्राधिकरण र निजी क्षेत्रका आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्नु पर्ने अवस्था आएको छ ।

यसमा कुलेखानी जलविद्युत आयोजना समेत रहेको छ । नेपाल र भारतबीच इनर्जी बैंकिङको सहमति यस अगाडी नै भइसकेको छ ।