समाचार

१५ हजार सैन्य फौज उद्दार र राहतमा

काठमाडौं । १५ हजार सैन्य फौज वर्षापछि उत्पन्न विपद्को व्यवस्थापनमा खटिएको नेपाली सेनाले जानकारी दिएको छ ।

सेनाले मंगलबार विज्ञप्ती जारी गर्दै उक्त संख्यामा फौज उद्दार र राहतमा खटिएको बताएको हो । बाढी, पहिरो र डुवानले अहिले देशका विभिन्न भेगको जनजीवन प्रभावित भइरहेको छ ।

प्राकृतिक प्रकोपमा परी ५ दर्जन भन्दा बढी नागरिकले अकालमा ज्यान गुमाइसकेका छन् । प्रभावित क्षेत्रमा सेना आफूसँग उपलब्ध उद्दार सामग्रीसहित खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतमा प्रयोग गर्न ७ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् ।

काठमाडौंमा २ वटा एमआई १७, एउटा एएलएच, एउटा अगस्टा, एउटा इक्युरेल तथा इटहरीमा एउटा बेल, र धनुषामा एउटा एमआई १७ हेलिकोप्टर तयारी अवस्थामा राखिएको सेनाले उल्लेख गरेको छ ।