समाचार

आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम

काठमाडौं । सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्ती। यस दिनबाट नेपालमा चाडबाड शुरु भएको मान्यता छ ।

असार महिनाभर कृषि काममा व्यस्त रहेका कृषक १ साउन दिन सबै आफन्त एक स्थानमा जम्मा भई मिठा परिकार खादै रमाइलो गर्ने प्रचलन त छँदैछ, यस दिनबाट शिवमन्दिरमा भक्तजनको विशेष भीड पनि शुरु हुन्छ ।

घरघरमा लुतो फालेर रोगव्याधीबाट मुक्ति माग्दै साउने संक्रान्ती मनाउने नेपालको पुरानो प्रचलन हो ।

यस दिनबाटै नेपाली महिलाले हातमा महेन्दी र शरीरमा हरियो लुगाले आफूलाई सुसज्जित बनाउँछन् । हातमा हरियो चुरा लगाएर प्रकृतिसँगको सामिप्यता महसुश गर्ने महिना पनि हो, साउन ।

आजदेखि सूर्य दक्षिणतर्फ लाग्ने भएकाले आजै देखि दक्षिणायन सुरु हुन्छ। १ माघबाट उत्तरायण र १ साउनबाट दक्षिणायन सुरु हुने भएकाले धार्मिक रुपमा यी दुई दिनलाई विशेष मान्ने गरिन्छ ।

साउनदेखि माघसम्म निरन्तर चाडबाडहरु पर्छन् । यस महिनाबाट नेपालीहरुका हर्षका दिन शुरु भए भन्ने मान्यता पनि रहेको छ ।