समाचार

काठमाडौंमा जग्गाको भाउ कति ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा सरकारी मापदण्ड अनुसारको भाउ निर्धारण गरी सार्वजनिक गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य नेतृत्वमा गठन भएको सरकारी समितिले उपत्यकाका विभिन्न स्थानका लागि सरकारी मूल्य निर्धारण गरेको हो ।

अब जग्गा किनबेच गर्दा सोही मूल्यलाई आधार मानेर कर तिर्नुपर्छ । समितिले सार्वजनिक गरेको मूल्य अनुसार काठमाडौं उपत्यका भित्रै प्रतिआना न्यूनतम १५ हजार रुपैयाँदेखि अधिकतम ३५ लाखसम्मको मूल्य सार्वजनिक गरिएको छ ।

यो मूल्य चक्रपथ आसपास र त्यसभन्दा बाहिरको मूल्य हो । काठमाडौंको मध्यभागमा भने जग्गाको भाउले आकास छोएको छ ।

काठमाडौंका न्यूरोड, बानेश्वर, त्रिपुरेश्वर, जमल, सिंहदरबार, ठमेललगायत मध्य काठमाडौंको मूल्य भने स्थान हेरीहेरी प्रतिआना ५० लाख रुपैयाँ भाउ तोकिएको छ ।

तर कारोबार भने निकै बढी मूल्यमा हुने गरेको छ । यी स्थानमा प्रतिआना ९\१० करोड प्रतिआनासम्म कारोवार हुने गरेको छ ।

जिल्ला समन्वय समिति काठमाडौंका अधिकृत पिताम्बर अधिकारी, करदाता सेवा कार्यालय कालिमाटीका कर अधिकृत दीपेन्द्र प्रकाश गिरी, नापी कार्यालय कलंकीका प्रमुख नापी अधिकृत सुरेश जोशी, नेपाल राष्ट्र बैंकका प्रतिनिधि नरेन्द्र सिंह विष्ट, उद्योग वाणिज्य संघ काठमाडौंका कृष्णमान श्रेष्ठ र मालपोत कार्यालय कलंकीका प्रमुख मालपोत अधिकृत देबीबहादुर भण्डारी सदस्य सचिव रहेको समितिले जग्गाको भाउ निर्धारण गरेको हो ।

समितिले कलंकी र साँखु मालपोत क्षेत्रमा पर्ने जग्गाहरुको नयाँ न्यूनतम मूल्यांकन दर रेट तयार पारेको बताएको छ ।

आंकडा अनुसार चक्रपथसँग जोडिएको बल्खुदेखि वनस्थलीसम्म प्रतिआना न्यूनतम ३५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

काठमाडौं महानगरभित्रै विष्णुमति खोला पुलदेखि रविभवन वडा नम्बर १४ को सीमासम्म गणेशमान पथ र कालिमाटी चोकदेखि दक्षिणतर्फ बल्खु क्षेत्र प्रतिआना ३३ लाख रुपैयाँ न्यूनतम मूल्यांकन भएको तथ्यांक छ ।

दक्षिणकाली नगरपालिका क्षेत्रमा भने ३ लाख रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जग्गाको भाउ तय गरिएको छ । फर्पिङ(कुलेखानी मूल सडकले छोएको क्षेत्रमा प्रतिआना ३ लाख रुपैयाँ तय भएको छ ।

यहाँ बाटो नपुगेको जग्गाको मूल्य प्रतिआना २५ हजार रुपैयाँ तोकिएको छ ।

दक्षिणकाली नगरपालिका, चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिकाको बाटो नपुगेको दूर्गम भेगको जग्गा प्रतिआना न्यूनतम ७५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको आंकडाले देखाएको छ ।

साँखुको कतिपय क्षेत्रमा १५ हजार प्रतिआना मै जग्गा किनबेच गर्न सकिने गरी मूल्य निर्धारण भएको छ । यहाँ अधिकतम भने २५ लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।