विश्व

जिम्वावे क्रिकेट आइसीसीको निलम्बनमा

लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जिम्बावे क्रिकेटलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

राजनीतिक हस्तक्षेपको शिकार भएको जिम्बावे क्रिकेट संघलाई निम्बन गर्ने निर्णय आइसीसीले गरेको हो । लण्डनमा सम्पन्न आईसीसीको बोर्ड बैठकले जिम्बावेलाई दिँदै आएको सबै प्रकारका अनुदान समेत रोक्ने निर्णय गरेको छ ।

निलम्बनमा परेसँगै उक्त मुलुकले अब आइसीसीद्धारा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन समेत पाउने छैन ।

राजनीतिले खेललाई प्रभावमा पार्न थालेसँगै उक्त मुलुकमाथि प्रतिवन्ध लगाउने निष्कर्षमा पुगेको आईसीसीका अध्यक्ष शशांक मनोहरले बताएका छन् ।

आइसीसीका विधानसँग बाझिने गरी भएका गतिविधिमाथि नजर अन्दाज गर्न नसकिने उनको भनाई छ ।

जिम्बावेको खेलकुद तथा मनोरञ्जन आयोगले क्रिकेट संघ निलम्बन गर्दै तदर्थ समिति बनाएपछि विवाद चुलिएको हो ।

आईसीसीले जिम्बावे क्रिकेटलाई तीन समहिनाको समय दिएको छ । यसबीचमा सुधार भए आगामी अक्टोवरमा हुने बैठकले निर्णय पुनरावलोकन गर्न सक्ने प्रावधान रहेको छ ।

जिम्बावे टेस्ट समेत खेलिसकेको शक्तिशाली देश हो । यो देशले विश्वकप क्रिकेटसमेत खेलिसकेको छ ।

तर, राजनीतिक हस्तक्षेपका कारण संघ भने कमजोर बनेसँगै अहिले उक्त देशको क्रिकेटको स्तर पनि खस्किएको छ ।

एजेन्सी