कला / साहित्य

लघुकथा : अभियन्ता

लीलाराज दाहाल

कर्मैया, सर्लाही

एकदिन रत्नपार्कको पुरानो बसपार्कमा केही मानिसहरु भेला भए । उनीहरुले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडि पछाडि दुवै तिर र टोपीमा सरसफाई अभियान लेखिएको थियो ।

“आफ्नो टोल, नगर सफा राखौं” भनेर लेखिएको प्लेकार्ड पनि बोकेका थिए । उनीहरुको उद्देश्य भनेको धुम्रपान, मद्यपानलाई निरुत्साहित गर्नु, सरसफाईको महत्वलाई जनस्तरमा पुर्याएर जनचेतना जगाउनु हो भनेर बताईएको थियो ।

उनिहरु पुरानो बस पार्क, रत्नपार्क, जमल हुँदै त्रि-चन्द्र कलेज पुगेर अभियान समापन गर्ने सल्लाह गरी सडक छेउका फोहर मैला टिप्दै, प्लेकार्ड देखाउँदै, फोटो खिच्दै हिंडिरहेका थिए । टोली त्रि-चन्द्र कलेज अगाडि पुगेर अडियो ।

हात हातमा बोकेका प्लेकार्ड भुँईमा राखेर उनिहरुले बोतलको पानी किनेर हात धोए । कसैले चुरोट सल्काए । कसैले बिस्कुटका प्याकेट झिके । कसैले चाउचाउ निकाले । अनि कसैले बिदेशी मदिरा गिलासमा खन्याए, कसैले बोतलबाटै पिउन थाले ।

हल्का बिश्रामपछि उनिहरु अगाडि बढे ।

उनिहरुले खाएर फालेका बिस्कुट, चाउचाउका खोल, पानी र मदिराको खालि बोतल तथा चुरोटका ठुटा भने सडकभरी जताततै छरिएका थिए ।