समाचार

विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

काठमाडौं । प्रहरीले विप्लव समूहका प्रभावशाली नेता माइला लामालाई पक्राउ गरेको छ । उनी विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज हुन् ।

काँडाघारीबाट शनिबार मध्यरातमा लामा पक्राउ परेको महानगरीय अपराध महाशाखाले पुष्टी गरेको हो । उक्त स्थानबाट दुई जना पक्राउ परेको प्रहरीको भनाई छ ।

अर्का विप्लव कार्यक्रता रेशम तामाङ हुन । नेता लामालाई काठमाडौं उपत्यका विभिन्न स्थानमा भएको बम विष्फोटको मूख्य योजनाकार मानिएको छ ।

काठमाडौंका नख्खु, अनामनगर, सुकेधारालगायत स्थानमा बम विस्फोटमा परी आधा दर्जनले ज्यान गुमाएका थिए ।

त्यसमध्ये अनामनगर र सुकेधारामा विप्लवकै कार्यक्रता मारिएका थिए । लामा २०६४ सालमा संविधानसभा निर्वाचनका लागि काठमाडौंबाट चुनाव लडेर पराजित भएका हुन् ।

उनी तत्कालिन माओवादी आन्दोलनमा सांगितिक विभागको नेतृत्व गर्थे । माओवादीको जनसाँस्कृतिक महासंघका अध्यक्ष समेत भएका लामा पार्टी फूटेपछि भने मोह वैद्य हुँदै विप्लव समूहतिर लागेका हुन् ।

उनको पृष्ठभूमि पनि संगित नै हो । उनले संयौ क्रान्तिकारी गीतको सिर्जना तथा गायनमार्फत योगदान दिएका छन् ।

पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ताको हल्ला चलेकै समयमा विप्लव समूहका प्रभावशाली नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

यसको प्रतिक्रिया समूहले अझै दिइसकेको छैन ।