समाचार

दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई तीन स्वर्ण

काठमाडौं । १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले प्रभावशाली प्रदर्शन गरेको छ ।

नेपाललाई शनिबार दुई स्वर्ण प्राप्त भयो । शुक्रबार एक स्वर्ण हात पारेको नेपालको खातामा शनिबार पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जिते ।

शुक्रबार समीर श्रेष्ठले पुरूष ६५ केजीमा स्वर्ण हात पारेका थिए ।

पुरुष एथलेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कास्य जिते। महिलाको मोडल फिजिकमा नेपाली पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कास्य हात पारिन् ।

पुरुषको ८० केजी समूहमा भएको प्रतिस्पर्धामा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कास्य जिते।

जुनियर पुरुषको समूहमा नेपाल तेस्रो भयो । पुरुष एथलिट फिजिकको १६७ सेमीसम्म अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जितेका थिए भने नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कास्य पदक जिते ।

पुरुष स्पोर्ट्स फिजिकमा नेपालका प्रमोद राई दोस्रो भए । टिममा भने अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारतले तेस्रो स्थान जीतेका हुन् । प्रतियोगिता काठमाडौंमा जारी छ । आइतबार पनि विभिन्न स्पर्धा हुने आयोजकले बताएको छ ।