अमेरिका

ट्रम्पले घोषणा गरे प्रविधीमा संकटकाल, अमेरिकी कम्पनीलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक

न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । संकटकाल घोषणासँगै उनले अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएका छन् ।

बिदेशी दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको र साइबर आक्रमणको खतरा बढेको ट्रम्पको भनाइ छ ।

सञ्चार सञ्जालहरूलाई विदेशी प्रतिद्वन्द्वबाट बचाउन पनि संकटकाल आवश्यक भएको ट्रम्पले उल्लेख गरेका छन् । ट्रम्पको यो निर्णय खासगरी चिनियाँ उत्पादनलाई लक्षित गरी आएको हो । चिनियाँ कम्पनी हुवावेले आफ्ना उपकरणको माध्यमबाट अरू राष्ट्रमा जासुसी गरिरहेको अमेरिका लगायत पश्चिाम मुलुकले आरोप लगाउँदै आएका छन् । हुवावे लगायत चिनियाँ संस्थापनले यो आरोपलाई स्वीकारेका छैनन् । हुवावेले आफ्ना उपकरण सुरक्षित रहेको र कसैको जासुसी नगरेको दावी गर्दै आएको छ ।

अमेरिका र चीनबीच व्यापार युद्ध चर्किँदै गर्दा ट्रम्पको पछिल्लो निर्णय आएको हो । यसले दुई देशको सम्बन्धमा थप समस्या उत्पन्न हुनसक्ने अनुमान गरिएको छ । गतसाता मात्रै ट्रम्पले २०० खर्ब डलर बराबरको चिनियाँ उत्पादनमा लगाइएको १० प्रतिशत करलाई २५ प्रतिशत र्पुयाएका थिए । जवाफमा चीनले ६० अर्ब डलर बराबरको अमेरिकी सामाग्रीमा कर वृद्धि गरेको थियो ।