समाचार

ढाकामा अब नेपाली वायुसेवा कम्पनीको उडान, हिमालयले थाल्यो सेवा

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय विमान वाहक हिमालय एयरलाइन्सले बंङ्गलादेशको राजधानी ढाकामा सिधा उडान शुरु गरेको छ ।

हिमालयले सोमबार ढाकामा काठमाडौंबाट पहिलो उडान सम्पन्न गर्यो ।

प्रिमियम इकोनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउने कम्पनीले बताएको छ ।

काठमाडौं ढाका उडानको समय एक घण्टाको रहेको छ । यस उडानबाट व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रु लाभान्वित हुने कम्पनीले जानकारी दिएको छ ।

एकै दिन आउने र फर्कने समेत सुविधा रहेका कारण यो रुट व्यवसायीहरुबीच लोकप्रिय हुने कम्पनीको विश्वास रहेको छ ।

सोमबार कुल १४१ यात्रु बोकेर उद्घाटन भएको हिमालय एअरलाइन्सको विमान फर्कदा ढाकाको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट १०४ यात्रु बोकेर आएको थियो ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले व्यापार, जनशक्ति, पर्यटन तथा संस्कृति आदान प्रदानलाई अझ प्रगाढ बनाउन यो गन्तब्यको उडान सहयोगी हुने बताए ।

यसबाट नेपाल भ्रमण वर्षलाई समेत सहयोग पुग्ने उनको विश्वास थियो । नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको छ ।

अहिले हिमालय एअरलाइन्सले आबुधावी, दमाम, दोहा, दुबई, क्वालालम्पुर र ढाका गरी छ गन्तव्यस्थलमा आफ्नो उडान सञ्चालन गरेको छ ।

कम्पनीसँग ८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्ट रहेका छन् ।

कम्पनीले सन् २०१९ भित्रै चीनको बेइजिङमा उडान बिस्तारको योजना बनाएको छ । चीनका अन्य शहर नाङचाङ, चोङकिङ, चाङ्सा, गुइयाङ लगायतका गन्तव्य स्थलमा आफ्नो विस्तार पु¥याउने योजना रहेको कम्पनीको भनाई छ ।