मनोरञ्जन

चिनियाँ चलचित्र नेपालमा छायांकन हुने

काठमाडौं । चिनियाँ फिचर फिल्म ‘द वे अफ पियोर ल्याण्ड’को नेपालमा छायांकन हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोमबार आयोजित कार्यक्रममा उक्त जानकारी गराइयो ।

उक्त अवसरमा चलचित्रको छायांकनका लागि नेपाल आएको टोली पनि सार्वजनिक भएको थियो । चीनबाट चर्चित निर्देशक किम किङ, कलाकार सेलिना, लेखक रे चेन, निर्माता वेङ वीन बाओ र सहायक निर्देशक इल्डवाइज नेपाल आएका छन् ।

नेपालको पोखरा, चितवन, बन्दिपुर तथा काठकाडौंका विभिन्न स्थानमा चलचित्रको सुटिङ हुने कार्यक्रममा जानकारी दिइयो ।

नेपालको आकर्षक भौगोलिक अवस्थिति तथा यहाँको सांस्कृतिक विविधताका कारण विदेशी चलचित्र निर्माता नेपालतर्फ आकर्षित भइरहेको छन् ।

यस चलचित्रको छायांकनले नेपालले आगामी वर्ष मनाउने नेपाल भ्रमण वर्षलाई समेत सहयोग पुग्ने अपेक्षा सचिवालयको रहेको छ ।