समाचार

अमेरिकामा आप्रवासीलाई तुरुन्तै देशनिकाला गर्न नयाँ नियम

अमेरिकी सरकारले अदालतलाई छलेर अप्रावासीहरूलाई देशनिकाला गर्न मिल्ने द्रुत प्रकृतिको नयाँ प्रक्रिया मङ्गलवार शुरू गर्दैछ।
नयाँ नियम अन्तर्गत अमेरिकामा निरन्तर दुई वर्ष बसेको पुष्टि गर्न नसक्ने आप्रवासीहरूलाई तत्कालै उनीहरूको देशमा फर्काउन मिल्छ।
अहिलेसम्म यस्तो नियम सीमामा गिरफ्तार गरिएका र अमेरिकामा दुई हप्ताभन्दा कम बसोबास गरेका व्यक्तिहरूमा मात्रै लागु थियो।
अधिकारवादी संस्थाहरूले यो नियमले सयौँ मानिसहरू प्रभावित हुनसक्ने बताएका छन्।
अमेरिकी सिभिल लिबर्टिज युनियनले यो नियमलाई अदालतमा चुनौती दिने बताएको छ।मङ्गलबार प्रकाशन भएलगत्तै यो नयाँ कानुन कार्यान्वयनमा आउने बताइएको छ।मेक्सिकोसँग जोडिएको दक्षिण सीमा क्षेत्रमा रहेका बन्दीगृहको अवस्थालाई लिएर अमेरिकी आप्रवासन नीतिको हालैका महिनामा आलोचना भएको छ।
कार्यवाहक आन्तरिक सुरक्षा मामिलामन्त्री केभिन माकालिननले पछिल्लो परिवर्तनले बोझ कम गर्ने र सीमा क्षेत्रका आप्रवासी गृहको क्षमतासम्बन्धी सवालहरू सम्बोधन गर्न मद्दत गर्ने बताएका छन्।
विश्लेषकहरूले आप्रवासनसम्बन्धी कठोर नीतिलाई राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को पुनर्निर्वाचन अभियानको प्रमुख मुद्दा बनाएको बताएका छन्।

के परिवर्तन हुँदैछ?

अमेरिकामा दुई हप्ताभन्दा कम समय बिताएका र सीमाको एक सय ६० किलोमिटर आसपासको दुरीमा पक्राउ गरिएका व्यक्तिहरूलाई तत्काल देशनिकाला गर्न सकिने प्रावधान छ।
अन्यत्र फेला परेका आप्रवासीहरू र दुई हप्ताभन्दा बढी अमेरिकामा बसिसकेका व्यक्तिहरूबारे अदालती बाटोबाट निर्णय गर्नुपर्छ। त्यस्ता व्यक्तिले वकिल राख्न पाउँथे।
तर नयाँ नियमले जहाँ पक्राउ परेको भएपनि वकिलसँग पहुँच नदिइकनै उनीहरूलाई देशनिकाला गर्न सकिनेछ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ठूलो सङ्ख्यामा गैरकानूनी आप्रवासीहरूलाई प्रभावकारी रूपमा नियन्त्रणमा लिन पछिल्लो व्यवस्थाले मद्दत गर्ने उल्लेख गरेको छ।

को प्रभावित हुन्छन्?

पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा कागजातविहीन झण्डै एक करोड पाँच लाख आप्रवासी छन्। तीमध्ये वयस्क उमेरका आप्रवासीहरू औसतमा अमेरिकामा १५ वर्ष बसेका छन्।
अमेरिकी आन्तरिक सुरक्षा मामिला मन्त्रालयले गम्भीर स्वास्थ्य अवस्था रहेका र अमेरिकासँग ‘उल्लेख्य सम्बन्ध’ रहेका व्यक्तिहरूलाई छुट दिन सकिने उल्लेख गरेको छ।
शरणार्थीको योग्यता पुगेका आप्रवासीहरूलाई शरणार्थी हेर्ने अधिकारीसँग कुरा गर्न दिइने र उनीहरूको दाबी सम्बन्धित अधिकारीहरूले जाँच गर्ने भनिएको छ।कतिपय अधिकारवादीहरूले धेरै आप्रवासीहरूले आफू अमेरिकामा बसेको समय पुष्टी गर्न सङ्घर्ष गर्नुपर्ने बताएका छन्।
माइग्रेसन पोलिसी इन्स्टिच्युटका वकिल मुज्जफर चिस्टी भन्छन्, “जब चोक वा फ्याक्ट्रीमा तपाईंलाई पक्राउ गरिन्छ, त्यो बेला तपाईं दुई वर्षदेखि बसिरहेको प्रमाणित गर्नसक्नुहुन्न किनभने तपाईं सधैँ सबै कागजपत्र बोकेर हिँड्नु हुन्न।”
सोमवार नयाँ नियम घोषणा भएको केही घण्टापछि नै अमेरिकी सिभिल लिबर्टिज युनियनले कानुनी चुनौती दिने घोषणा गरेको थियो।
नर्थवेस्टर्न युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक ज्याकी स्टेभेन्सका अनुसार अमेरिकी आप्रवासन निकायले गिरफ्तार गर्नेमध्ये एक प्रतिशत र देशनिकाला गर्नेमध्ये आधा प्रतिशत अमेरिकी नागरिक नै रहने गरेका छन्।
उनी भन्छिन्, “द्रुतरूपमा देशनिकाला गर्नसक्ने व्यवस्थाले अवस्थालाई अझ खराब बनाउनेछ।”

( यो सामाग्री बि बि सि न्युज नेपालीबाट लीएको हो )