समाचार

डेढ वर्षमा मात्र दुई पटक संसदीय समिति पुगे देउवा

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समिति हेभिवेट नेताहरु भएको समितिका रुपमा परिचित छ ।

किनकी यस समितिको सदस्यमा दुई जना पूर्वप्रधानमन्त्री रहेका छन् ।

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल यस समितिका ठूला नेता हुन् ।

समितिको बैठकमा नेता खनाल भने नियमित जसो उपस्थित हुन्छन् । समसामयीक विषयको वहसमा सहभागी हुन्छन् ।

मन्त्री तथा कर्मचारीलाई विकास निर्माणको प्रगतिका सम्बन्धमा सोध्ने गर्छन् । तर, कांग्रेस सभापति देउवा भने संसदीय समिति सक्रिय भएको करीव डेढ वर्षको अवधिमा मंगलबार दोस्रो पटक समिति पुगे ।

समितिमा पुगे पनि उनी केही बोलेनन् । चुपचाप बसे र फर्किए ।

मंगलबारको बैठकमा सरकारले संसद्‌मा दर्ता गराएको विज्ञापन विधेयक माथि छलफल भएको थियो ।

अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने बैठकमा आफ्नो धारणा राखे । उनले क्लिन फिड आवश्यक रहेको भन्दै यसबाट सांस्कृतिक हस्तक्षेपबाट मुलुक बच्न सक्ने धारणा राखेका थिए ।