कला / साहित्य

लघुकथा : पात्र एक, रुप अनेक

लीलाराज दाहाल

कर्मैया, सर्लाही

दृष्य : १

“के भो रे भाउजू ? दाईले फेरी कुटे रे ? कस्ता पुराना सोचाईका छन् दाई ! मूर्खताको लौरो बोकेर हिड्न कहिल्यै छाडेनन् । उनले लगाईरहेको अन्धविश्वासको चस्मा फुकाल्न लगाउनु पर्छ । छोरी मात्रै जन्मनुमा तपाईको के दोष छ र ? छोराछोरी एकै हुन् भनेर म सम्झाइ दिउँला दाईलाई ! छोरी मात्रै जन्मे भनेर खिन्नताको ओछ्यानमा सुतिरहने हो र ? छोरी पनि राष्ट्र-प्रमुख भएका छन् । डाक्टर, इन्जिनियर, प्राध्यापक, बैज्ञानिक भएका छन् । तपाई नरुनुस् भाउजू ! घर जानुस् ! अव तपाईमाथि घरेलु हिंसा हुन दिन्न म । तपाई घर जानुस् अहिले !”     

दृष्य : २       

            आदरणीय जनसमुदायहरु ! मेरो यत्रो लामो भनाइको अर्थ के हो भने अब हामीले छोराछोरीमा भेदभाव नगरौं । यो एक्काइसौं शताब्दीमा छोराछोरी एकै हुन् । छोराछोरीलाई समान व्यवहार गर्नु पर्दछ । पढाई लेखाईमा दुवैलाई समान अवसर दिनु पर्छ । धन्यवाद !

दृष्य : ३

          “फेरी के भो ? छोरीले भाँडा सफा गरिन रे ! के अनर्थ हुन लागेको हो यो घरमा ! ए छोरी ! एता आइज । स्कूलको गृहकार्य त घरायसी काम धन्दा सकेर पो गर्ने हो त छोरी ! के भएकी तँ ? घरको काम नगरी पढी मात्रै रहनलाई त छोरै भएर जन्मनु पर्छ, बुझिस् ! लु जा । छिट्टो काम सकी हाल् । के गर्नु छोरो भएर जन्मिनस् ! नत्र पढ्न पाउँथिस् नि !”

दृष्य: ४

               त्यसो नभन न प्यारी !  म त समाजसेवी मान्छे ! एउटा छोरो पनि नभए कसरी मुख देखाउनु समाजमा ! चार ओटी छोरी भएर के भो त ? छोरा जस्तो छोरी कहाँ हुन्छन् र ! तिमी ढिपी नगर न प्यारी ! कमसेकम मेरो पनि मन राखीदेउ ! एउटा छोरो पाईदेउ । प्यारी एउटा छोरो…प्लिज  ! एउटा छोरो प्लिज ! प्यारी…! एउटा छोरो…!