समाचार

मान्छे मारेर भागेका व्यक्ति ३४ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका व्यक्ति फरार भएको ३४ वर्षपछि पक्राउ परेका छन् ।

बारा जिल्ला, फेटा गाउँपालिका-३ जलेश्वरका लखिचन साह कलवारलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले मंगलबार दिउँसो कलैया उपमहानगरपालिका-१० निलकण्डबाट पक्राउ गरेको बताइएको छ ।

३० असार २०४२ मा फेटा गाउँपालिका–३ जलेश्वरका अमलदेव यादवलाई कलवारले हत्या गरेका थिए। उक्त घटनामा लखिचन दोषि सावित भई अदालतले २० वर्षको सजाय सुनाएको थियो ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराले १६ माघ २०४३ मा, तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतले १० माघ २०४६ र ४ भदौ २०६० मा सर्वोच्च अदालतले कलवारलाई २० वर्ष कैदको फैसला सुनाएको थियो।

कलवार घटना पश्चात नै आफ्नो घरबाट भागेका थिए । उनी मामाघर भारतको बिहार मोतिहारी जिल्ला ग्राम बेलदर्वामा पुगेका थिए।

उनी सोही ठाउँमा घर समेत बनाएर परिवारसहित बस्दै आएको प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेका कलवारलाई फैसला कार्यान्वयनका लागि उनलाई वीरगञ्ज कारागार पठाइएको छ ।