कला / साहित्य

तीन रोटी र रोदन दिवाली

अच्युत सिग्देल,न्युयोर्क
भारतीय व्यवसायीहरू लक्ष्मी पूजाको विशेष महत्व राख्दछन् । त्यो एक दिन राम्रो भातृत्व र भाइचाराको आत्मीय प्रदर्शन हुने गर्दछ । मुस्लिम, शिख र कृश्चियनहरू पनि पूजामा सरिक हुन्छन् । टीका प्रसाद ग्रहण गर्छन् । शुभकामना आदानप्रदान हुन्छ । सबैले एकआपसमा गला मिलाउँछन् । अलि–अलि कहीँकतै वैमनस्यता पलाएको पनि मर्ने गर्छ ।
भेण्डरहरू बोटल दिन्छन्, कोही मासु सप्लाएर गोट दिन्छन् त कोही ल्याम्ब चप, ठूलो हण्डीमा बिरयानी दम लाग्छ । थरिथरिका भेजी डिस पनि पाक्छ । बंगाली बोन्धुहरू दोही, मिष्ठी, सन्डेषको हाट बजार लगाउँछन् ।
सबै एकै टेबलमा बसेर स्तरीय डिनर खान्छन् । राति राम्रो ब्राण्डको बोटल खुल्छ । धक खोलेर पिउँछन्, एक दुई जना राजा बन्छन्, मातिन्छन्, हल्का पातिन्छन् र पोखिन्छन् । राम्रा दिलदार बोसहरू बोनसस्वरूप एक हप्ताको तलब दिन्छन् । कोही सुनचाँदीको सिक्का बाँड्छन् । त्यसले काम गर्नेहरूमा ऊर्जा थपिन्छ । धन र डलर देवीको पूजामा मेक्सिकोदेखि चिली र रसियादेखि न्युजील्याण्डसम्मका सबै जोडिन्छन् ।
यस्तै एक दिवालीको दिन सबै पूर्व तयारी पूर्ण व्यवस्थित थियो । बिहानैदेखि फोन बजेको बज्यै थियो । सप्ताहदेखि लिएका क्याटरिङको सामानहरू प्याक गर्न मेसिन जस्तै हात चल्दै थिए । सबै आ–आफनो ११०–१२० प्रतिशत दिन्थे । सबैले चुपचाप अरूको हात थाम्थे र साथ दिन्थे । सबै चनाखो थिए, एक गल्तीले धेरै कामको रूटिन मेकअप हुन्थ्यो ।
लन्चमा बुफे लागेको थियो । १० डलर अतिरिक्त लगाएर १६ कोर्षको बुफे २४ कोर्ष बनेको थियो । छोला भटुरादेखि जिलेबी सजिएका थिए, फ्रुट प्लाटर सजिएको थियो । ग्राहक चुपचाप उपलब्ध टेबल लिन्थे । भ¥याङको कुनासम्म भरिएको थियो । दुई–तीन घण्टाको अवधिमा १००० जना जति लन्च खाइरहेका थिए । सबै अस्तव्यस्त हुनेगरी दौडिरहेका थिए । साहुजीहरू पनि अर्डर लिन्थे र किचेन अर्डरका लागि सर्भरको पछि लाग्थे ।
भित्री लञ्च पातलिँदै थियो, बाहिरबाट कल आएर । क्याटरिङमा रोटी छुटेछ । सुगरपीडित ग्राहकको छोराको दिवाली चढिसकेको थियो । धमाधम गाली दिएछन् । भर्खर अमेरिका झरेका डाइमण्ड व्यापारी थिए होलान् । महिला कर्मचारीलाई विचिविची भनेछन् । अतिरिक्त कामको लोडले थकित बिचरी रून थालिन् । माहौल गम्भीर भयो । साहुनी फोनमा आइन् । उनलाई पनि सात पुस्ता नै सम्झाउने गरी मुख छाडेछन् ।
जब समस्या आउँछ त्यसलाई सुरूमै डिल गरे त्यो छिट्टै समाधान हुन्छ । त्यसलाई अलिकति बढ्न दिए त्यसले विकरालरूप लिन्छ र समाधान पनि हँुदैन ।
दिवाली राम्रोसँग मनाउन सुगर पीडितवाला रोटी छुट्नु ग्राहकको तर्फबाट अक्षम्य गल्ती देखियो । उनलाई रेष्टुराँको के पर्वाह ? ग्राहक १०० प्रतिशत ठीकको शैलीमा गाली बके । यता ११० प्रतिशत काम गरेर थाकेको महिला कर्मचारी जाबो तीन रोटी, अरूले नै छुटाइदिएकोमा अपशब्द सुन्नुपर्दा दुःख अवश्य नै लाग्थ्यो । भान्साको तातो तन्दुरमा ५००० रोटी पोल्नु पर्दा तातिएको सेफ दुःखले बनाएको रोटी मिसप्लेस हुँदा रिसाउने हक थियो नै । दुई हातले हजारौं जनाको खाना नियन्त्रण गरेको सुपरभाइजरलाई तीन रोटी ठूलो समस्या नै थिएन । चुट्कीमा तीन रोटी लगाएर एक जना अमिगोलाई दौडाइदिनु न थियो ।
सबैले कामको चापमा दिवाली बिर्सिए । कसले कसलाई ब्लेम लगाउने भनेर गल्ती खोज्न थालियो । साहुजीले सुपरभाइजरलाई दोष दियो । उसले साहुजीलाई भनिदियो– ‘तेरो कारण यो सबै भएको हो । मलाई किन डस्टर्ब गर्न आएको ? सामान त तिमीले नै फाइनल चेक गरेको हो ।’ मालिक मालिक थिए, पैसा दिन्थे, काम गर्न । काम गर्नेकै कारण यो सबै भएको हो भन्ने सोचे । ट्रम्प शैलीमा भनि दिए– ‘यू आर फायर्ड ।’
वातावरण स्तब्ध भयो । घरमा लास परेजस्तै शून्यता छायो । सबैको अनुहार मलिन भयो । कसैलाई खानाको स्वाद भएन । मालिकलाई बचन फिर्ता लिन लाखौं प्रयत्न गरियो, उनले मानेनन् । घण्टौंको प्रयत्न विफल भयो । बेलुका कसैले दारू नपिएर एक किसिमको शोक सभा नै मनाए । एक होनाहार कामदार रूँदै कपडा फेरेर घर गयो ।