समाचार

चीनबाट नेपाल फर्काइयो महिला कामदार

बेइजिङ । चीनको गार्मेन्टमा काम गर्न पुगेका महिला कामदारलाई नेपाल फर्काइएको छ ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा काम गरिरहेका ४४ नेपाली महिला कामदारलाई स्वदेश फर्काइएको हो ।

दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट शनिबार नेपाल पठाइएको छ । उनीहरु आइतबार नेपाल पुग्ने दूतावासले उल्लेख गरेको छ ।

श्रम अनुमति लिएर चीन पुगेका ती कामदारलाई कम्पनीले सम्झौता अनुसार सेवा सुविधा दिन नसकेपछि घर पठाइएको दूतावासको भनाई छ । उनीहरु मे २०१९ मा कारखानामा आइपुगेका थिए ।

उनीहरुले कम्पनीमा सम्झौता अनुसार सेवा सुविधा नपाएपछि दूतावसमा उजुरी गरेका थिए । सोही आधारमा दूतावासले घर फर्काउने वातावरण मिलाएको उल्लेख गरेको छ ।

पछिल्लो समय क्रमशः चीनमा समेत नेपाली कामदार जाने क्रम बढ्दो क्रममा रहेको छ । तर, चीनमा उचित सेवा सुविधाको भने समस्या छ ।