समाचार

बालुवाटार प्रकरणका आरोपितले गरे आत्महत्या

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका पूर्वकर्मचारी युक्तप्रदाद श्रेष्ठले आत्महत्या गरेका छन् ।

उनी मालपोत कार्यालयबाट २०६० सालमा नासु पदबाट सेवा निवृत्त भएको प्रहरीले पुष्टी गरेको छ ।

आइतबार दिउँसो २ बजे बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर श्रेष्ठले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

आठौं तलाबाट झरेका श्रेष्ठलाई गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । तत्काल उनलाई डाक्टरले मृत घोषणा गरे ।

बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काममा संलग्न व्यक्तिहरुको सूचिमा उनको नाम पनि मुछिएको छ । उनीसहित दर्जनौं व्यक्तिमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

श्रेष्ठ पर्वत फलेबास नगरपालिका ६, देवीस्थानका स्थायी बासिन्दा हुन् । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।

उनी स्थानीय स्तरका कांग्रेसको राजनीति पनि गर्थे । नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिमा उनी सचिव पदमा मनोनित भएका थिए ।