समाचार

युवा विदेशमा-नेपालको बारी बाँझै, व्यापार घाटामा डुब्दै देश

काठमाडौं । आर्थिक वर्ष २०७५\७६ मा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको छ ।

एक वर्षको अवधिमा नेपालले १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्यो ।

त्यसमध्ये आयात मात्र १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । निर्यात भने वर्षभरमा १ खर्ब पनि पुगेन ।

यस अवधिमा मात्र ९७ अर्ब १० करोड रुपैयाँ बराबरको समान तथा वस्तु विदेश निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ ।

विभागको तथ्यांक अनुसार नेपालमै उत्पादन सम्भव भएका कृषिजन्य वस्तुमै ठूलो परिणाममा आयात भएको छ ।

इन्धन र सवारी साधनको आयात पनि उत्तिकै धानिनसक्नु अवस्थामा पुगेको छ । नेपालमा वस्तु निर्यातले पुरै इन्धनको आयात मात्र पनि नधान्दा नेपाल व्यापार घाटाको डरलाग्दो भूमरीमा फसिसकेको आभास हुन्छ ।

पछिल्लो समय सरकारले विलासीताका वस्तुको आयातमा कडाइ गरेको छ । तर, ति सामान भित्रने क्रम भने रोकिएको छैन । जगलै जंगलको देशमा ४० अर्ब रुपैयाँ भन्दा बढीको काठ आयात भएको छ ।

भट्टमासदेखि गुन्द्रुक र सियोसम्मका सामान नेपालले विदेशबाट आयात गरिरहेको छ । मासु, दुध, चामल, फलफुल तथा तरकारीको आयात उत्तिकै बढिरहेको छ ।

खासगरी नेपालमा उत्पादनमा लाग्नुपर्ने युवा विदेश पलायन हुने अवस्थाले स्वदेशमा उत्पादन घटिरहेको छ । तर, बसी बसी खानु पर्ने नेपालीलाई भारत र तेस्रो मुलुकका उत्पादनले पालिरहेको देखिन्छ ।

तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा व्यापार घाटा साढे १३ प्रतिशतले उकालो लागेको छ । आर्थिक वर्ष ०७४-०७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो ।

नेपालको व्यापार घाटा नेपाल भित्रने रेमिट्यान्स र नेपालको कूल बजेट भन्दा पनि बढी हुन थालिसकेको छ । चालू आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ ।

नेपालमा पेट्रोलियम पदार्थ, स्टिल तथा फलाम, मेसिनरी, यातायात र पार्टपुर्जा, खाद्यान्न लगायतको आयातमा बढी रकम बाहिरिन्छ । आव ०७५-०७६ मा नेपालले १ खर्ब ६५ अर्ब भन्दा माथिको इन्धन आयात भएको छ ।

नेपालको वैदेशिक व्यापार १ सय ५८ मुलुकसँग रहेको छ । त्यसमध्ये नेपालले १ सय ३६ मुलुकसँग घाटाको व्यापार गरिरहेको छ ।

नेपालको ठूलो व्यापार भारत र चीनमा केन्द्रित छ । त्यसबाहेक संयुक्त अरब इमिरेट्स, फ्रान्स, इन्डोनेसिया, थाईल्याण्ड, क्यानाडा, अमेरिका, स्वीट्जरल्याण्ड, मलेसियाजस्ता मुलुकसँग नेपालको वैदेशिक व्यापार रहेको छ ।