समाचार

१२ कक्षाको नतिजा सार्वजनिक

काठमाडौं । सरकारले माध्यामिक स्तरको मान्यता दिएको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिएको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

यस पटक ३ हजार ६७ जना विद्यार्थीले ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएका छन् । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कुल ४ लाख २८ हजार ६७ परीक्षार्थीले भाग लिएको बोर्डले जानकारी दिएको छ ।

नियमित तर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी सहभागी भएकोमा ३ हजार ६७ जनाको नाममा उच्च तहको जीपीए प्राप्त भयो ।

३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

ग्रेडिङ पद्दतिअनुसार ९ वटा तहको ग्रेडमा विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । नतिजाअनुसार ३१ हजार विद्यार्थीको नाममा २.८१ देखि ३.२० जीपीए प्राप्त भएको छ ।

२.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थी ५६ हजार ५ सय ३ जना रहेका छन् । यसअघि एसएलसी सरह मान्यता दिने गरेकामा अब माध्यामिक स्तरको मान्यता कक्षा १२ सम्मको परिक्षालाई दिइन्छ । यस कक्षाबाट विद्यार्थी माथिल्लो स्तरको पढाईका लागि योग्य हुन्छन् ।