फिचर

एक वर्षमा ७५३ नेपालीको विदेशमा निधन

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पगेका ७५३ जना नेपाली युवा अब कैले पनि नउठ्ने गरी काठको बाकसमा स्वदेश फर्किएका छन् ।

बैदेशिक रोजगार बोर्ठले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५\७६ को तथ्यांक अनुसार एक वर्षको अवधिमा विदेशमा मृत्यु भई स्वदेश शव ल्याइएका ७५३ जनाको परिवारलाई क्षतिपूर्ति प्रदान गरेको छ ।

यस तथ्यांकमा अवैधानिक रुपमा गएर ज्यान गुमाएका नेपाली, अध्ययन भिषामा जाने नेपाली र विदेशमा वैधानिक रुपमा पुगेर भागेर बस्ने नेपालीको मृत्यु जोडिएको छैन ।

बोर्डका अनुसार एक वर्ष अवधिमा ७३० पुरुष र २३ जना महिला कामदारको वैदेशिक रोजगारीमै रहेको अवस्थामा ज्यान गएको छ ।

त्यसो त आर्थिक वर्ष २०७४\७५ मा ८२१ जनाको मृत्यु भएको थियो । त्यसमध्ये ८ सय जना पुरुषले ज्यान गुमाएका थिए । महिला मात्र २१ थिए ।

तथ्यांक अनुसार कामदार जाने क्रम रोकिएको मलेसियामा नेपालीको मृत्यु भने धेरै भयो । मलेसियामा मात्र २२९ जना नेपाली कामदारको निधन भएको तथ्यांक छ ।

मलेसियाको रोजगारी नेपालीबीच जति आकर्षक छ, त्यति असुरक्षित पनि । उता, साउदी अरेबियामा १९४ नेपालीले ज्यान गुमाएका छन् ।

कतारमा १३५ नेपालीको ज्यान गएको तथ्यांक रहेको छ । यूएईबाट ८५ वटा शव नेपाल भित्रिए । कुवेतमा २९ जनाको निधन भयो ।

पछिल्लो समय सबैभन्दा आकर्षक गन्तब्य कोरियामा मात्र १ वर्षको अवधिमा २० नेपालीको ज्यान गयो । कोरियामा धेरै नेपालीको मृत्युको कारण आत्महत्या हो ।

बहराइनमा ११, ओमानमा ६ र जापानमा ३ जनाको निधन भयो । यसबाहेक अन्य विभिन्न मुलुकमा गरी ४१ थप नेपालीले ज्यान गुमाएको बोर्डद्धारा सार्वजनिक तथ्यांकमा उल्लेख रहेको छ ।

विदेशमा कामदारले अति दवावमा काम गर्नुपर्ने बाध्यता छ । हावापानी नमिल्ने र कडा परिश्रमका कारण धेरै नेपालीको जान जाने अवस्था छ ।

अर्कोतर्फ तापक्रम नमिल्ने र अदक्ष कामदारका रुपमा जादा पनि विदेशमा धेरै नेपालीले कडा परिश्रम गर्नुपर्ने बाध्यता रहेको छ । अर्कोतर्फ सडक दूघटनामा पनि धेरै नेपालीको ज्यान जाने गरेको छ ।