समाचार

बन्द आह्वान गरेको विप्लव समूहबाट ठाउँठाउँमा क्षति

काठमाडौं । आफ्ना केन्द्रिय स्तरका नेताहरु पक्राउ परेको विरोधमा विप्लव समूहले बुधबार देशका विभिन्न स्थानमा बन्द आह्वान गरेको छ ।

खासगरी बागमति र नारायणी अञ्चलका जिल्लाहरुमा समूहले बन्दको घोषणा गरेको हो । बन्द सफल बनाउन भन्दै यस समूहका कार्यक्रताले भौतिक सम्पत्तिमाथि क्षति पुर्याउन थालिसकेका छन् ।

मकवानपुरमा एक गाडीमा आगजनी गरेको प्रहरीले बताएको छ । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला पर्न थालेको प्रहरीको भनाई छ ।

हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी भएको छ ।

यस समूहका काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले गत ५ साउन ५ पक्राउ गरेको विरोधमा बन्द आह्वान भएको विप्लव समूहले बताएको छ ।

उता, रौतहटको चन्द्रपुर नगरपालिका– ३ को वडा कार्यालयमा मंगलबार मध्यरातमा आगजनी गरिएको छ । आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएका छन् ।