समाचार

दलहरु आफ्नै अडानमा, संसद अवरोध कायमै

कठमाडौं । राजनीतिक दल आ-आफ्नो अडानमा टसमस नहुँदा व्यवस्थापिका संसदको अवरोध बिहीबार पनि कायम रह्यो ।

विहीबार सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरी संसदको अवरोध हटाउने प्रयास थालेका थिए ।

तर, सर्वदलीय बैठकमा दलहरु आफ्नो अडानमा टसमस भएनन् । सर्लाहीका दुई गोलीकाण्डका घटनामा संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित मषेधवादी दलले संसद अवरुद्ध गरिरहेका छन् ।

सत्तारुढ दल भने यसको विरोधमा छ । राज्य व्यवस्था समितिबाट छानबिन भइरहेको विषयका लागि छुट्टै समितिको आवश्यकता नरहेको नेकपाको तर्क रहेको छ ।

सोहीकारण सर्वदलीय बैठकमा सहमति जुट्न सकेन ।

सर्लाहीको लालबन्दीमा प्रहरीको गोलीबाट मारिएका नेत्रविक्रम चन्द विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल र इश्वरपुरमा प्रहरीको गोलीबाटै मारिएका सरोजनारायण महतो प्रकरणमा संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग रहेको छ ।

यस विषयमा अर्को प्रतिपक्षी दल राजपाले कांग्रेसलाई साथ दिएको छ । बुधबारको बैठकमा यी दुई दलले संसदमा नाराबाजी गरेका थिए । कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधि सभा बैठक सोमबार सम्म स्थागित गर्ने निर्णय गरेो छ ।