समाचार

योगेश भट्टराईलाई सांसदका सुझाव : निस्कदा कुनै दाग नलागोस

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई सांसदहरुले मन्त्री पदबाट बाहिरिँदा कुनै दाग नबोकी निस्कने गरी काम गर्न सुझाव दिएका छन् ।

आइतबार अन्तरराष्टिय सम्बन्ध समितिको बैठकमा सहभागी भएको सबैजसो सांसदले मन्त्री भट्टराईसँग देशले ठूलो आशा गरेको भन्दै त्यसमा सफल हुन सुझाव दिएका हुन् ।

बैठकमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाललाई संसारभरको पर्यटकीय आकर्षक मुलुक बनाउन सकिने सम्भावना रहेको भन्दै त्यसमा केन्द्रित हुन सुझाव दिए ।

उनले धर्म, कला संस्कृति र प्रकृतिबाटै धेरै पर्यटक आकर्षित गर्न सकिने सुझाव दिए । नारायणहिटी दरबार संग्रहालयलाई नेपालको इतिहास संग्रहालयका रुपमा विकास गर्न सकिने भन्दै उनले नेपाललाई हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा स्थापित गर्न सकिने उल्लेख गरे ।

सांसद भीम रावलले परिस्थितिले दिएको जिम्मेवारीमा भट्टराई सफल हुने अपेक्षा राखे । सांसद अग्नी प्रसाद सापकोटाले नेपाल वायुसेवा निगमलाई जसरी भएपनि माथि उकास्नु पर्ने र यसका लागि प्रधानमन्त्रीले नै नेतृत्व लिने मोडल स्थापित गर्न सकिने सम्भावनाबारे सुझाव दिए ।

बैठकमा बोल्दै अधिकांश सांसदले निजगढ विमानस्थललाई छिटो निर्माण प्रक्रियामा लैजान, नेपाल वायुसेवा निगमलाई एक सक्षम र प्रतिस्पर्धी कम्पनी बनाउन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन मन्त्रीाट धेरै अपेक्षा रहेको बताएका थिए ।

जवाफमा मन्त्री भट्टराईले आफ्ना लागि मन्त्री र सांसद दुबै पद नयाँ अनुभव भएको भन्दै सबैबाट सहयोगको अपेक्षा गरेको बताए ।

उनले निजगढ विमानस्थल यसै आवमा शुरु गर्ने प्रतिवद्धता व्यक्त गरे । पोखरा र भैरहवा विमानस्थलको काम पनि संतोषजनक रुपमा भइरहेको उनको भनाई थियो ।