विज्ञान प्रविधि

पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र जथाभावी खुलेका पेट्रोलपम्पलाई व्यवस्थित बनाइने भएको छ ।

मापदण्ड बीना नयाँ पेट्रोलपम्प खोल्न नदिने र भएका पेट्रोलपम्पले पनि व्यवस्थित संचालनको वातावरण बनाउनु पर्ने निर्णय महानगरपालिकाले गरेको छ ।

महानगरपालिकाका अनुसार अब महानगर भित्र सडक किनारमा बीना मापदण्ड कुनै पनि पेट्रोलपम्प खोल्न अनुमति दिइने छैन ।

खासगरी सडक किनारमै पेट्रोलपम्प खुल्दा त्यसले एकातर्फ शहरी सौन्दर्य बिगारीरहेको छ भने अर्कोतर्फ सडकमा जाम हुने समस्या समेत निम्त्याएको छ ।

यस्ता पेट्रोलपम्पले सडक विभागको मापदण्ड पुरा गरेका छैनन् । त्यसकारण काठमाडौंका पेट्रोलपम्पलाई डरलाग्दो बमका रुपमा पनि लिइन्छ ।

बस्तीसँगै जोडिएका र सुरक्षाको पर्याप्त प्रवन्ध नगरिएका कारण यहाँका पेट्रोलपम्प जोखिमपूर्ण मानिन्छ ।

महानगरले पेट्रोलपम्प व्यवस्थित बनाउन भन्दै महानगर, आयल निगम, सडक विभाग, यातायात व्यवस्था विभाग र नगर प्रहरीलगायत सरोकारवाला निकायको संलग्नता रहन गरी एक समिति गठन गरी अध्ययन गरेको थियो ।

समितिले नयाँ ऐन मापदण्ड तोकी पेट्रोल पम्प व्यवस्थित गर्न सुझाव दिएको छ ।