स्वास्थ्य

तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?

काठमाडौं । सरकारले नेपालमा उत्पादित फलफूल तथा तरकारीका लागि किटनाशक विषादीको अधिकतम सीमा तोकेको छ ।

नेपालमा पहिलो पटक यस्तो सीमा तोकिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार पहिलो चरणमा दश प्रजातीका फलफूल र तरकारीको एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट) तोकिएको छ ।

विभागले स्याउ, केरा, करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियापत्तिमा किटनाशक औषधिको अवशेष रहनु पर्ने अधिकतम प्रयोगको सीमा राखिएको हो ।

पहिलो चरणमा हरेक दिन मानिसको भान्सामा प्रयाग हुने फलफूल र तरकारीमा यस्ता सीमा तोकिएको विभागको भनाई छ ।

यस्तो सीमा निर्धारण भएपछि कुन विषादी राखेको कति समयपछि तरकारी र फलफूल खाँदा शरीरमा असर गर्दैन भन्ने निश्चित गरिन्छ ।

तरकारी र फलफूलमा दजर्नौं प्रकारका विषादी प्रयोगमा रहेका छन् ।

विभागले स्याउमा २७, केरामा ४२, करेलामा १, भण्टामा २१, बन्दामा ३६, काउलीमा १३, भिण्डीमा ३, आलुमा ७१, टमाटरमा ७३ तथा चियामा १९ प्रकारका औषधिको सीमा निर्धारण गरिएको उल्लेख गरेको छ ।

सरकारले खानेपानी, पाउडर दुध र गेडागुडीमा भने यस्तो सीमा तोकिसकेको छ । निर्धारण गरिएको अधिकतम सीमा अनुसार तरकारी र फलफूलमा विषादीमो मात्रा ज्यादै कम अथवा नगन्य हुनुपर्छ ।