समाचार

मनसुन जारी, पश्चिम पहाडमा जोखीम

प्रतिकात्मक तस्वीर

काठमाडौं । मेघ गर्जनसहितको वर्षा र चट्याङले मंगलबार देशको पश्चिमी पहाडी भेगको मौसम प्रभावित हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले ती स्थानका नदि किनार र जोखीमपूर्ण स्थानमा रहेका मानिसलाई पूर्वजानकारी दिँदै सचेत गराएको छ ।

महाशाखाका अनुसार मंगलबार केही स्थानमा हल्का वर्षा हुनेछ भने पश्चिमी पहाडका केही स्थानमा भने भारी वर्षा हुने अनुमान गरेको छ ।

देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षा हुने भन्दै महाशाखाले सचेत गराएको छ ।

महाशाखाका अनुसार डडेल्धुरा, डोटी, कैलाली आसपासमा ठूलो वर्षाको सम्भावना छ । पहाडका अन्य भेगमा समेत वर्षा हुने छ । पहाडको वर्षाले तराईमा डुबानको समस्या निम्त्याउँछ ।

अर्कोतर्फ पहाडका संवेदनशिल क्षेत्रमा पहिरोको जोखिम उत्तिकै रहन्छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा समेत वर्षाको सम्भावना रहेको छ ।

सोमबार बागलुङमा पहिरोमा परी तीन जनाले ज्यान गुमाएका थिए । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सेन्टरमा पहिरोले पाँच घर पुरेको थियो ।

सोमबार बिहान १ बजेतिर आएको पहिरोले स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।