स्वास्थ्य

एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

काठमाडौं । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले चितवन पुगेर आत्महत्याको बाटो रोजेका छन् ।

प्रहरीका अनुसार उनी सोमबार राती चितवनको नारायणगढस्थित बसपार्क नजिकै कंगारु होटलको कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

उनी सोमबार दिँउसो साढे तीन बजे होटेलमा चेकइन गरेका थिए । रातको खाना खाने बेला बोलाउँदा उनले ढोका खोलेनन् ।

त्यसपछि लामो समयसम्म ढोका नखुलेपछि होटेलले प्रहरीलाई खबर गरेको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीको भनाई छ ।

उनी नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ कुमरीका स्थायी हुन् । पत्रकार रवि लामिछानेको कार्यक्रम न्यूज २४ को सीधा कुरा जनतासँग पनि आवद्ध भई काम गरिसकेका पत्रकार हुन् ।

सोमबार नै काठमाडौंको कपनमा एउटै रुखमा पासो लगाएर युवायुवतीले आत्महत्या गरेको प्रहरीले बताएको छ ।

सोलुखुम्बु सोताङ(४, नाम्लुङका २१ वर्षीय अमिर चन्द्र नाछिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङले एउटै रुखमा पासो लगाएर झुण्डिएका हुन् ।

विवाहित खालिङकी एक छोरीसमेत छिन् भने नाछिरिङ अविवाहित हुन् । निर्मलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

उता, सोमबार नै कुलत छुटाउन सुधार केन्द्रमा राखिएका एक पुरुषले सुधार गृहभित्रै झुण्डिएर आत्महत्याको बाटो रोजेका छन् । भक्तपुरको सूर्यविनायक-९, नंखेलस्थित भाटेढिकुरको नयाँ बिहानी सुधार केन्द्रमा ३९ वर्षीय माधव कार्कीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनी नेपाली सेनाका अवकासप्राप्त कर्मचारी रहेको बताइएको छ । उनी दोलखाका स्थायी बासिन्दा हुन् ।

पछिल्लो समय नेपालमा विवाहइत्तर सम्बन्ध राख्ने र गल्ती गरेपछि त्यसको ढाकछोपका लागि आत्महत्याको बाटो रोज्ने प्रवृत्ति फैलिएको छ ।

खासगरी वैदेशिक रोजगारीमा जाने परिवारहरुमा यो समस्या डरलाग्दो गरी फैलिरहेको छ । यसले गम्भीर सामाजिक समस्या ल्याउने चिन्ता समाजशास्त्रीहरु गर्छन् ।