समाचार

३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सकियो

काठमाडौं । २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ ।

पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा छन् ।

यी सम्पदाहरुको पुनर्निर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ खर्च भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

पुनर्निर्माण सम्पन्न सम्पदाहरुमा हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनर्स्थापना तथा तलेजु मन्दिर मुख्य छन् ।

त्यसैगरी भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिध्दिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायण लगायतका मन्दिरहरुको पुनर्निर्माण कार्य सम्पन्न भएका छन् ।

चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ ।

त्यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनर्स्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ ।

ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्य समेत गरिएको छ । त्यसैगरी थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपा लगायतका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण भैसकेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको कार्य धेरै अघि बढिसकेकाले प्राधिकरणले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताएको प्राधिकरणले उल्लेख गरेको छ ।

सम्पदाहरुको पुनर्निर्माणलाई अझ तीव्र पार्न पुरातत्व विभागको क्षमता वृद्धि गर्नुका साथै अनुगमनलाई थप प्रभावकारी बनाउने उनको प्रतिवद्धता रहेको छ ।

पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालू आर्थिक वर्ष २०७६र०७७ मा थप १५० वटा सम्पदाको पुनर्निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

पुनर्निर्माण भइरहेका मुख्य सम्पदाहरुमा रानीपोखरी, धरहरा, बसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबारलगायत छन् ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणमा नेपाल सरकारका स्रोतका अतिरिक्त विभिन्न राष्ट्रहरुले पनि सहयोग गरेका छन् ।

यसरी सहयोग गर्नेमा चीन, भारत, अमेरिका, स्वीट्जरल्याण्ड, श्रीलंका, जापान लगायत छन् । काठमाडौँस्थित युनेस्को कार्यालय तथा अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेसन तथा युनिभर्सिटी अफ एप्लाइड आर्टसले पनि सहयोग गरेका छन् ।

भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका सम्पदाहरुमा क्षति पुगेको थियो । ती मध्ये ७ सय ५३ वटा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका छन् भने भूकम्प प्रभावित १७ जिल्लाका १ सय ३८ वटा सम्पदा छन् ।