फिचर

नेपाल एयरलाइन्सको उपचारमा पर्यटन मन्त्रीको एक्सन

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक वायुसेवा नेपाल एयरलाइन्सको सुधारमा पर्यटन मन्त्री योगेश भट्टराईले काम थालेका छन् ।

बुधबार एक अध्ययन समिति गठन गर्दै मन्त्री भट्टराईले निगममा सुधारको खोजी थालेका हुन् ।

लामो इतिहास बोकेको नेपाल एयरलाइन्सले नेपालमा हवाई यातायातको विकास, पर्यटन क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिष्ठा बृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

तर, नेपाल एयरलाइन्स राजनीतिक कार्यक्रता भर्ति केन्द्रका रुपमा स्थापित भयो । खासगरी प्रजातन्त्र आएपछि निगमलाई धरासायी बनाउने खेल शुरु भएको हो ।

विगत लामो समयदेखि विभिन्न किसिमका व्यवस्थापकीय समस्याबाट निगम बाहिर निस्किन सकेको छैन । यसको प्रभावकारी व्यवस्थापनका विभिन्न प्रयासहरु भए तापनि यसले अपेक्षित गति लिन सकेको छैन ।

अन्तर्राष्ट्रिय स्तरमा निगमको साख बढाउँदै व्यवसायिक क्षमतामा बृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरुमा तत्कालीन तथा दीर्घकालीन सुधार आवश्यक रहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको मन्त्रालयका प्रवत्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

नेपाल वायुसेवा निगममा विभिन्न पक्षहरुको वर्तमान अवस्था, समस्याहरु र सुधारका उपाय समेत पहिचान गरी एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन कार्ययोजना समेत पेश गर्न समिति गठन गरिएको छ ।

समितिको संयोजक सुशिल घिमिरेलाई तोकिएको छ । उनी पूर्व सचिव हुन । सुवोध कुमार कर्ण, लेखा विज्ञ, डिम प्रसाद पौडेल, व्यवस्थापन विज्ञ, सुधीर संशेर राई, क्याप्टेनलाई सदस्य तोकिएको छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्य सचिव तोकिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यस समितिलाई नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, नेपाल वायुसेवा निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने र निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवम् व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ ।

यसबाहेक उल्लेखित सबै पक्षहरुमा गर्नुपर्ने तत्कालिन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्ने र निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्ने जिम्मेवारी तोकिएको छ ।

मन्त्री भट्टराईले आफ्नो सम्पूर्ण ध्यान निगमको सुधारमा केन्दित रहेको बताएका छन् ।