स्वास्थ्य

पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

काठमाडौं । नेपालमा सरकारी अस्पतालको छवि राम्रो छैन । सरकारी अस्पताल भन्नासाथ धेरै भीड, भद्रगोल व्यवस्था र अस्तव्यस्तताको प्रतिक मानिन्छन् ।

तर, नेपालमै एक यस्तो सरकारी अस्पताल छ, जसले आफ्नो सेवालाई क्रमशः डिजिटल बनाउँदै लगेको छ ।

नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा अब अनलाइनबाटै टिकट बुक गर्न सकिने सुविधा शुरु भएको छ ।

अस्पतालको ओपिडी टिकट लिन अब बिरामी र उसको आफन्त लाइनमा बस्ने नपर्ने भएको हो । प्रभु पे मोबाइल वालेटका माध्यमबाट सर्वसाधारणले सजिलै टिकट काट्न सक्ने अस्पतालले जानकारी दिएको छ ।

घरमै बसेर आफ्नो रोगको सम्बन्धित विभागका लागि टिकट खरीद गर्न सकिने सुविधाको विकास गरिएको हो ।

यससँगै नेपालमा पहिलो पटक कुनै पनि अस्पतालले एप्सका माध्यमबाट टिकट काट्न सकिने सजिलो माध्यम शुरु गरेको हो ।

यो अस्पताल निजामती कर्मचारीलाई लक्षित गरी खोलिएको हो । तर, यहाँ सर्वसाधारणको पनि निकै राम्रो उपचार हुने गरेको छ ।

अस्पतालका अनुसार दैनिक औसतः ८ सय जना सर्वसाधारणको ओपिडीमा उपचार हुने व्यवस्था मिलाइएको छ । यो अस्पताल छिमेकी मुलुक चीनको सहयोगमा निर्माण भएको हो ।